Wednesday, June 12, 2024

एसपी वढुवामा प्रहरीमा खैलावैला


  • February 12, 2015


एसपी वढुवामा प्रहरीमा खैलावैला

काठमाडौं । एसएसपी बढुवाका बिषयमा नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्यालको कार्यशैलीप्रति एक पटक फेरि प्रश्न उठेको छ । महानिरिक्षक अर्याललाई इमान्दार र बेमाइमानबीचको अन्तर थाहा हुँदाहुँदै पनि गृहमन्त्री वामदेव गौतम र गृहसचिव सुर्य सिलवाल समक्ष अडान लिएर आफु मातहतका अधिकारीहरुलाई न्याय दिन नसकेको आरोप प्रहरी संगठनभित्र चर्को रुपमा लागेको छ । प्रहरी महानिरिक्षकको सचिवालयले माघ २८ गते साँझ ३५ जना डिएसपीहरु एसपीमा बढुवाका लागि सिफारिस गरेको सूची सार्वजनिक गरेको थियो । बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) रमेश शेखर बज्राचार्यले हस्ताक्षर गरेर सार्वजनिक भएको यस पटकको एसपी बढुवामा निकै विभेद भएको छ । हालका महानिरिक्षक अर्याल पश्चिमाञ्चल क्षेत्र पोखराको प्रमुख हुँदा घुस काण्डमा मुछिएका नवराज भट्ट, एआइजी (प्रहरी अतिरिक्त महानिरिक्षक) नवराज ढकालका भतिजा तथा पटक–पटक नसियत पाइसकेका भिम ढकाल र विकासराज खनाललगायत दागीहरुको बढुवा गर्न अर्याल कसरी वाध्य भए प्रहरी संगठनमा खैलावैला मच्चिएको छ। तिनै ढकाल अहिले ३५ औं नम्बरमा बढुवा भएका छन् । अझ अर्को दागी भट्ट र खनालको त १३ औं र २७ औं नम्बरमै बढुवा भएको छ । स्रोतका अनुसार तिनै जना दागीहरुलाई बढुवा गर्न गृहमन्त्री वामदेव गौतमले चर्को दवाव दिएका थिए । महानिरिक्षक अर्यालले कारणसहित दागीहरुको विपक्षमा अडान लिइरहन नसकेर कमजोर अडान राख्दा नसियतधारीहरु बढुवाको सूचीमा अव्वल देखिएभने संगठनभित्र निकै राम्रो गरेका भनिएका डिएसपीहरु पवन गिरी, प्रमोद खरेल, दीपक थापा, राजकुमार वैदावार छुटेका छन् । त्यसैगरी भोला रावल, रामकुमार थापा, गोविन्द साहलगायत पनि बढुवामा पछि धकेलिएका छन् । नसियत पाएकाहरुसहित ४७ जना डिएसपीहरु बढुवाको प्रतिस्पर्धामा थिए । मकवानपुरमा कार्यरत डिएसपी दीपक थापालाई नियतवत छुटाइएको छ । उनले फेसबुकमा बढुवा निर्णय प्रति कडा आपत्ति जनाउँदै सतीले सरापेको देशमा यस्तै हुदोँ रैछ, कामको मुल्याङकन हुदोँ रहनेछ भनेर असन्तुष्टि जनाएका छन् । सिफारिसमा परेकामा एकनम्बरमा स्थानेश्वर रेग्मी, गणेश रेग्मी, श्यामलाल ज्ञवाली, सन्दिप भण्डारी, बसन्तबहादुर कुँवर, भरतबहादुर बोहरा, मिरा चौधरी थारु, किरण बज्राचार्य,टेकप्रसाद राई, रविन्द्र केसी, पोषराज पोख्रेल, नवराज भट्ट, बुद्धिराज गुरुङ, उमेशराज जोशी छन् । त्यसैगरि नरेन्द्रप्रसाद उप्रेती, कुबेर कडायत, केदार ढकाल,राजेन्द्र बिष्ट, राजुबाबु श्रेष्ठ, बिष्णुकुमार केसी, रोजेशनाथ बास्तोला, सुदिप गिरि, टेकबहादुर तामाङ, जनक भट्टराई, दुर्गा सिंह, बिकासराज खनाल, कृष्णकुमार महत, लालमणी आचार्य, तुल्सीप्रसाद अधिकारी, प्रकाशबहादुर चन्द्र, गोविन्दकुमार साह, उमाशंकर पञ्जियार, किरण राणा र भीमप्रसाद ढकाल बढुवाको सिफारिसमा परेका छन् ।


NEPAL NEWS Team
351 views

सम्बन्धित समाचारहरु