नागरिक समाजको आग्रहमा बैठक अनिश्चित


  • February 12, 2015


नागरिक समाजको आग्रहमा बैठक अनिश्चित

काठमाडौं । दलहरु सहमतिको वातावरण बनाउनका लागि संविधानसभाको बैंठक अनिश्चितकाल सम्मका लागि स्थागित गरेका छन् । विहिवार बिहान राजनीतिले एकाएक नयाँ मोड लिएपछि संविधानसभाको बैठक अर्को सुचना नभएसम्मका लागि स्थागित गरिएको हो । विहिवार बिहान नागरिक समाजका प्रतिनिधिका रुपमा परिचित भोजराज पोख्रेल, चरण प्रसाई, डा. सुन्दरमणी दिक्षित, सुवोध प्याकुरेल, विजयकान्त कर्ण लगायतको एक टोली एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर सहमतिका लागि दबाब दिएपनि राजनीतिले नयाँ मोड लिएको हो । नागरिक समाजको सो टोलीले बिहान प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर सहमति गरि संविधान जारी गर्न दबाब दिएका थिए ।
नागरिक समाजका प्रतिनीधिहरु दबाबका लागि दाहाललाई भेटेपछि दाहालले प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टाछुट्टै फोन गरी प्रश्नावली प्रस्ताव निर्माण समितिको प्रतिवेदन थाती राख्न आग्रह गरेपछि सत्तारुढ दलहरुले संविधानसभाको बैठकमा प्रश्नावली प्रस्ताव समितिको प्रतिवेदनमाथिको छलफल रोकेर संविधानसभा बैठक स्थागित गरिएको बताइएको छ । दाहालले कोइराला र ओलीलाई अब धेरै आतंकित नबनाए आफू वार्ताद्धारा सहमतिका लागि तयार रहेको पनि जानकारी दिएका थिए । नागरिक समाजका प्रतिनीधिहरुलाई साँछी राखेर नेताहरुका बीचमा वार्ता भएपछि नै संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगित गर्ने सत्तारुढ दलहरुका तर्फबाट संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई प्रस्ताव गरिएको थियो ।
स्रोतका अनुसार एमाओवादी अध्यक्ष दाहालको जवाफमा सत्तापक्षका दुबै नेताहरुले सहमतिको विपक्षमा आफूहरु पनि नभएको उल्लेख गर्दै तर सहमतिको नाममा अनन्तकालसम्म कुर्न नसक्ने जानकारी गराएका थिए । त्यसपछि दाहालसँग कुरा गरी सहमतिको वातावरण बनाउन लागेका नागरिक समाजका अगुवा टोलीले प्रधानमन्त्री कोइराला, ओली र सभाध्यक्ष नेम्वाङलाई छुट्टाछुट्टै भेट गरी संविधानसभाको बैठक अर्को मिति नतोकि केही समयका लागि स्थगित गर्न आग्रह गरेका थिए । नागरिक समाजका प्रतिनीधिहरुको आग्रहमा अर्को मिति नतोकि संविधानसभाको बैठक स्थागित गरिएको संविधानसभा सचिवालयले जनाएको छ । नागरिक समाजका प्रतिनीधिहरुले संविधानसभाको बैठक मिति नतोकि स्थगित गरेमा आफूहरुले अबको तीन दिनभित्र एमाओवादी नेतृत्वलाई वार्ता र सहमतिका लागि तयार बनाउने आश्वासन संविधानसभा अध्यक्ष नेम्वाङलाई दिएका थिए । ‘नागरिक समाजका प्रतिनीधिको आग्रह अनुसार फागुन ११ गतेका लागि बोलाउने तयारी भएको संविधानसभाको बैंठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।’ संविधानसभा सचिवालय स्रोतले भन्यो । संविधानसभाको बैठक अर्को सूचना नभएसम्म स्थगित गर्नु पूर्व कांग्रेस र एमालेका शीर्ष नेताहरुसँग नेम्वाङले संविधानसभा भवनमा परामर्श समेत गरेका थिए ।
संविधानसभा सचिवालय स्रोतले दिएको जानकारी अनुसार, नेम्वाङसँगको परामर्शमा नेताहरुले संविधानसभा यसै पनि भोलीदेखि १० दिन स्थगित गर्ने अवस्थामा यदि यो बीचमा पनि एमाओवादी वार्ता र सम्वादका लागि नआएमा कुनै पनि बेला सूचना जारी गरी बैठक डाक्न सकिने निश्कर्षमा पुगेका थिए । उनीहरुबीच सहमति भए त्यहि अनुसार संविधानसभाको बैठक अघि बढाउने र भएन भने पनि ११ गतेको सट्टा फागुन १५ भित्र संविधानसभाको बैठक बोलाएर प्रश्नावलीमाथिको निर्णय प्रक्रिया अघि बढाउने सहमति भएको छ ।
यसैबीच संविधानका विवादित विषयमा दलहरुलाई निरन्तर वार्ता र सम्वादद्धारा सहमति खोज्न सभाध्यक्ष नेम्वाङले जोड दिदै आएका थिए । यतिसम्म कि प्रस्ताव निर्माण समितिले प्रतिवेदन तयार पारी २६ गते प्रतिवेदन बुझ्दासम्म पनि नेम्वाङले सहमतिका लागि नै दलहरुलाई आग्रह गरेका थिए । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानका विवादित अन्तरवस्तुमा प्रश्न सहितको प्रस्ताव निर्माण समितिको प्रतिवेदन माथि निर्णय प्रक्रिया फागुन ११ गतेबाट शुरु गर्ने तयारी गरेका थिए । बुधबारसम्म विभिन्न दलका नेतादेखि सचिवालयका पदाधिकारीसँग बिहिबारको संविधानसभा बैठकमा समितिको प्रतिवेदन पेश गरी अनुमोदन गरेपश्चात उक्त प्रतिवेदन सभासदहरुले अध्ययन गर्ने निहुँमा सकेसम्म दलहरुबीच वार्ता र सहमति हुन सके होस भन्दै १० दिन बीचमा बैठक स्थगित गर्ने जानकारी दिएका थिए । तर बिहिबार अपरान्ह १ बजेको बैठक शुरु गर्र्नु केही समय अघि दलका नेताहरुसँग परामर्श गर्दै सभाध्यक्ष नेम्वाङ संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरे ।


NEPAL NEWS Team
261 views

सम्बन्धित समाचारहरु