Saturday, June 15, 2024

कोइराला र ओलीद्वारा दाहालसँग टेलिफोन वार्ता, संविधानसभा बैठक पूरै स्थगित गर्न माग


  • February 12, 2015


कोइराला र ओलीद्वारा दाहालसँग टेलिफोन वार्ता, संविधानसभा बैठक पूरै स्थगित गर्न माग

काठमाडौं । प्रश्नावली निर्माणका लागि संविधानसभा अध्यक्षले नै प्रस्ताव समिति बनाएपछि भड्किएको विपक्षीलाई मनाउन सत्तापक्षका शीर्ष नेताहरुले संयुक्त रुपमा पहल प्रारम्भ गरेका छन् । प्रधानमन्त्री सुशील कोइराला र सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षी मोर्चाका नेतासमेत रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गरेका छन् । उनीहरुले आन्दोलन छाडेर सहमतिमा आउन दाहाललाई आग्रह गरे ।

बिहीबार बिहान भएको टेलिफोन वार्तामा संविधानसभामा भएको बहुमतीय प्रक्रिया हटाई सहमतिमा संविधान जारी गर्नुपर्ने वातावरण बनाउन दाहालले आग्रह गरे । उनले संविधानसभाको बैठक १० दिनमात्र स्थगित गरेर सहमति गर्ने समय पर्याप्त नहुने भएकाले अनिश्चितकालका लागि स्थगित गर्न माग गरे ।

विपक्षी मोर्चा वार्तामा बस्न चाहेको बताउँदै दाहालले त्यसका लागि सरकारले विश्वनिय वातावरण तयार गर्नुपर्ने जनाए । दाहालले संविधानसभाको बैठकभित्र बहुमतीय प्रक्रिया रोकेर सहमतिका लागि संविधान जारी गर्ने प्रतिबद्धता भए आफूहरु वार्तामा आउने जानकारी दिए । टेलिफोनमा छलफल पछि ओली र कोइरालाले वार्ताको लागि छलफल गर्ने दाहाललाई आश्वासन दिएका छन् ।

संविधानसभामा बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्ने भएपछि त्यसको विरोधमा एमाओवादीसहित विपक्षी दलहरु संविधानसभाको बैठक बहिष्कार गर्दै आएका छन् । उनीहरुले सहमतिबाटै संविधान जारी गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रेका हुन् ।

प्रक्रिया नहटाइएसम्म आफूहरु सरकारले आहृवान गरेको कुनै वार्तामा सहभागी नहुने भन्दै एमाओवादी नेतृत्वको मोर्चा आन्दोलनमा उत्रेको छ ।


NEPAL NEWS Team
297 views

सम्बन्धित समाचारहरु