भीमदत्तनगर । एमाओवादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्ता साझेदार नेपाली काँग्रेस, नेकपा एमाले तथा विपक्षी एकीकृत नेकपा माओवादी र मधेसवादीदलबीच सहमतिले मात्रै संविधान जारी हुन सक्ने बताएका छन् । क्रान्तिकारी पत्रकार संघले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले काँग्रेस र एमालेको नेतृत्वले परिवर्तन संस्थागत गर्न नचाहेकै कारण सहमति हुन नसकिरहेको आरोपसमेत लगाए । प्रश्नावली समिति भंग गर्न नसकिए स्थगन गरेर भए पनि प्रक्रिया रोक्न आग्रह गर्दै उनले एमाले, काँग्रेस वा प्रधानमन्त्री सुशील कोइरालाले सार्वजनिक वक्तव्य जारी गरे आफूहरु वार्ता तथा संवादमा बस्न तयार रहेको बताए । नेता डा भट्टराईले सबै राजनीतिक दलहरुले आ–आफ्नै अडानमा बसेपनि आधारभूत विषयमा सहमति गर्नुपर्नेमा जोड दिए । ‘चार शक्तिबीचको सहमतिमा मात्रै दिगो संविधान जारी हुन्छ ।’ भट्टराईले भने– ‘प्रश्नावली समिति भंग गर्न नसकेपनि स्थगत गरेर सहमतिको वातावरण मिलाउन पर्छ ।’ एमाले अध्यक्ष ओलीप्रति व्यग्य गर्दै उनले नयाँ जंगबहादुर बन्ने सपना नदेख्न आग्रह गरे । बृहत् शान्ति सम्झौता र १२ बुँदे सहमतिमा प्रत्यक्ष रहनुभएका गिरिजाप्रसाद कोइराला नहँुदा पनि संकटमाथि संकट आइरहेको उनको भनाइ थियो ।