Saturday, December 2, 2023

विवादित सबै विषयका प्रश्नावली तयार, पाँचदेखि बढीमा १४ प्रदेशसम्म समावेश


  • February 8, 2015


विवादित सबै विषयका प्रश्नावली तयार, पाँचदेखि बढीमा १४ प्रदेशसम्म समावेश

काठमाडौं । संविधानका विवादित विषयमा प्रश्नसहितको प्रस्ताव निर्माण समिति मातहतको उपसमितिले सबै विषयको प्रश्नावलीसहितको प्रस्तावको मस्यौदा तयार पारेको छ। आइतबार बसेको उपसमिति बैठकले सबैभन्दा विवादित विषय राज्य पुनर्संरचनाबारे प्रस्ताव तयार पारेको हो।

प्रश्नावली प्रस्तावमा राज्य पुनर्संरचना गर्दा कम्तीमा पाँचदेखि बढीमा १४ प्रदेशसम्मको प्रश्न राखिएको उपसमितिका एक सदस्यले जनाए। यसअघि संविधानका विवादित विषयमा सहमति जुटाउन गठित संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा अखण्ड नेपाल पार्टीका तर्फबाट सभासद कुमार खड्काले राखेको पाँच विकास क्षेत्रलाई नै प्रदेश बनाउने प्रस्ताव सबैभन्दा कम प्रदेशको थियो। त्यसैगरी अघिल्लो संविधानसभामा राज्य पुनर्संरचना समितिले राज्य पुनर्संरचना आयोगको सिफारिसमा विवादस्पद रुपमा अघि सारेको १४ प्रदेशको प्रस्ताव सबैभन्दा बढी संख्या भएको प्रस्ताव हो।

एमाओवादीलगायत मोर्चाबाट आएको १० प्रदेशको हाराहारीमा प्रदेश निर्माणको प्रस्तावसहित कांग्रेस र एमालेलगायतको गठबन्धनबाट अघि सारेको सात प्रदेशको प्रस्ताव पनि प्रश्नावलीमा समावेश गरिएको छ। राष्ट्रिय जनमोर्चाले संघीयताको विरोध गर्दै सिंगो मुलुकलाई सात प्रशासनिक इकाई बनाउनु पर्ने प्रस्ताव पनि प्रतिवेदनमा प्रश्नका रुपमा समावेश गरिएको छ। उपसमितिको प्रतिवेदन आजै अपरान्ह बस्ने समितिको बैठकमा पेश गरिनेछ।

यसरी प्रस्ताव तयार पार्दा सबैभन्दा बढी प्रश्नावली राज्य पुनर्संरचनामा रहेको छ। उपसमितिले तयार पारेको प्रश्नावलीमा राज्य पुनर्संरचनामा मात्रै ५० भन्दा बढी वैकल्पिक प्रश्न समावेश गरिएको छ।

उपसमितिले तयार पारेको प्रतिवेदनलाई समितिले आवश्यक परिमार्जन गरी पारित गरेपछि उक्त प्रतिवेदनलाई छलफल र निर्णयका लागि आगामी संविधानसभाको बैठक माघ २९ गते पेश गरिने छ।

राजनीतिक घटनाक्रमले अर्को गति नलिएमा समितिले पेश गरेको प्रश्नसहितको प्रस्तावमा संविधानसभामा केही दिन छलफल गरिसकेपछि मतदानको प्रक्रियाबाट विवादित विषयको टुंगो लाग्ने छ। साधारण बहुमतको आधारमा पारित भएका विषयलाई त्यसपछि बस्ने संविधानसभाको बैठकले प्रारम्भिक मस्यौदा निर्माणका लागि मस्यौदा समितिमा पठाउने छ।


NEPAL NEWS Team
190 views

सम्बन्धित समाचारहरु