काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत राजनीतिक दलहरुलाई वार्ताका अपिल गरेका छन्। आइतबार एक विज्ञप्ती निकाल्दै प्रधानमन्त्री कोइरालाले भनेका छन् ‘म संविधानसभामा रहेका सबै राजनीतिक दल र तिनका नेताहरुलाई आह्वान गर्न चाहन्छु, आफ्नो राष्ट्र र जनताप्रतिको मूल कर्तव्यलाई ध्यानमा राखी हिजोका शान्ति प्रक्रिया र जनआन्दोलनका सहयात्री सँगै मिलेर संविधान निर्माण प्रक्रियामा जुट्न तथा आवश्यक सहमति र समझदारी निर्माण गर्न अबिलम्ब सार्थक वार्ता सुरु गरौँ।’
प्रधानमन्त्रीले जारी गरेको विज्ञप्ती
आफूले चुनेका प्रतिनिधिद्वारा निर्मित संविधानको आधारमा देशको शासन सञ्चालन गर्ने नेपाली जनताको २००७ सालदेखिको चाहना अझै अधूरै छ । त्यसमाथि विगत केही समयदेखि कायम रहेको सङ्क्रमणकाल लम्बिदै जाँदा मुलुक र जनताले हासिल गर्न सक्ने आर्थिक समृद्धिको संभावना समेत अन्योलमा परिरहेको छ ।
देशका जिम्मेवार राजनीतिक दल र व्यक्तिहरुले यस्तो अवस्थालाई जति सक्दो छिटो अन्त्य गरी देशलाई निकास र जनतालाई विकास दिन अग्रसर हुनुपर्र्ने छ । तसर्थ चालु संविधान निर्माण प्रक्रियालाई अब कति पनि ढिला हुन दिनु हुँदैन ।
यस प्रसङ्गमा प्रमुख प्रतिपक्षी दल ए।ने।क।पा।माओवादी तथा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायतका राजनीतिक दलहरु संविधान निर्माणको प्रक्रियाबाट अलग रहेर आन्दोलनको कुरा गरिरहेको अवस्था छ । म संविधानसभामा रहेका सबै राजनीतिक दल र तिनका नेताहरुलाई आह्वान गर्न चाहन्छु– आफ्नो राष्ट्र र जनताप्रतिको मूल कर्तव्यलाई ध्यानमा राखी हिजोका शान्ति प्रक्रिया र जनआन्दोलनका सहयात्री सँगै मिलेर संविधान निर्माण प्रक्रियामा जुट्न तथा आवश्यक सहमति र समझदारी निर्माण गर्न अबिलम्ब सार्थक वार्ता शुरु गरौं ।
गत माघ ५ गतेदेखि सहमति नजिक पुगिसकेका विषयलाई अघि बढाऔं र छिटोभन्दा छिटो संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गरी सङ्क्रमणकालको अन्त्य गर्दै मुलुकलाई राजनीतिक स्थायित्व र प्रगतिको दिशातर्फ लैजान अग्रसर बनौं ।
जय नेपाल