काठमाडौं । बिद्यालय व्यवस्थापन समितिको चुनावमा पराजित भएपछि एमाले कार्यकर्ताले ओखलढुंगा क्षेत्र नम्बर २ गाम्नाङ गाँउ समितिका पूर्व सभापति सहितका कार्यकर्तालाई कुटपिट गरेका छन् । ग्रामोदय उच्च मावि गाम्नाङटारको व्यवस्थापन समितिको चुनावमा पराजित भएपछि एमाले कार्यकर्ताहरु आक्रमणमा उत्रेका थिए । एमाले कार्यकर्ताको नेपाली कांग्रेस गाँउ समितिका पूर्व सभापति ७६ वर्षीय मिनबहादुर तमाङ लगायत पाँच जना गम्भिर घाइते भएका छन् । घाइते मध्ये लिलाबहादुर खत्रीको अवस्था गम्भिर रहेको बताइएको छ । उनिहरुको उपचार ओखलढुंगामा हुन नसकेपछि शिक्षण अस्पताल महाराजगंजमा ल्याएर उपचार भइरहेको कांग्रेस सभासद् रामहरी खतिवडाले जानकारी दिए ।
घाइते पाँचै जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुमा खत्रीको टाउकोमा गम्भिर चोट लागेको छ । उनको टाउकोको शल्यक्रिया सम्पन्न भएको सभासद् खतिवडाले जानकारी दिए । अन्य घाइतेहरुमा गोपाल तामाङ सुर्यबहादुर तामाङ उद्धव थापा रहेका छन् । सभासद् खतिवडाले घाइतेहरुको उपचार खर्च र दोषिलाई तत्काल कारवाहीको माग गरेका छन् ।