Saturday, December 2, 2023

‘संविधानसभा छाडे एमाओवादीसँग एकीकरण’


  • February 5, 2015


‘संविधानसभा छाडे एमाओवादीसँग एकीकरण’

काठमाडौ । नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले संविधानसभा छाडेर आए एमाओवादीसँग एकीकरण गर्ने सकिने बताएका छन् । तीन दिन चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले भने, ‘जनयुद्धमा सहभागीसँग एकीकरण हुन्छ, त्यसका लागि एमाओवादीले संविधानसभा छाड्नैपर्छ ।’ उनले जनताको संविधान बन्ने सम्भावना नभएकाले एमाओवादी संविधानसभा छाडेर सडक संघर्षमा आउनुपर्ने बताए । जनयुद्धमा सहभागी अन्य सच्चा क्रान्तिकारी कम्युनिस्टसँग समेत एकीकरण गर्न आफ्नो पार्टी तत्पर रहेको उनको भनाइ छ । झन्डै तीन वर्षअघि एमाओवादीबाट अलग भई वैद्यलगायतका नेताहरूले नेकपा(माओवादी गठन गरेका थिए । बैठकले मुद्दाका आधारमा एमाओवादी मोर्चासँग सहकार्य गर्ने निर्णय गरेको छ । संविधानसभाबाट जनताको पक्षमा संविधान नबन्ने उनले दाबी गरे । ‘संविधान बन्दैन, एमाओवादी सडक संघर्षमा आउनैपर्छ, आएन भने उहाँहरूलाई जनताले साथ दिँदैनन्, उनले भने । बैठकले फागुन १ देखि चैत २४ सम्म संगठन सुदृढीकरण तथा विभिन्न किसिमका संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकले केन्द्रीय सदस्यलाई स्थायी कमिटी र पोलिटब्युरोमा बढुवा गरेको छ । पार्टी प्रवक्ता पम्फा भुसाल, हितमान शाक्य, हरिभक्त कँडेल, इन्द्रमोहन सिग्देल, नारायण शर्मा र कुलप्रसाद केसीलाई स्थायी कमिटीमा बढुवा गरेको हो । पोलिटब्युरोमा बढुवा हुनेमा नेवाः राज्यका इन्चार्ज दिनेश शर्मा, चन्द्रहरि सुवेदी, सूर्यप्रकाश सुवेदी, सुरेश आलेमगर र महेश्वर दाहाल छन् । सावित्री काफ्ले, अमृता थापा, यशोदा सुवेदी, पवनमान श्रेष्ठ, मायाप्रसाद शर्मा, दिलीप प्रजापति, मौसम लिम्बू, श्रीनाथ अधिकारी र श्रीराम ढकाललगायत १९ जनालाई पोलिटब्युरोमा बढुवा गरिएको छ । अब नेकपा(माओवादीको केन्द्रीय समिति एक सय २५ सदस्यीय भएको छ ।


NEPAL NEWS Team
236 views

सम्बन्धित समाचारहरु