विपक्षी मोर्चा सभासद्द्धारा २० हजार उठाउदै आन्दोलनमा


  • February 5, 2015


विपक्षी मोर्चा सभासद्द्धारा २० हजार उठाउदै आन्दोलनमा

काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल नेतृत्वको ३० मोर्चाले आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरेको छ । मोर्चाको बिहीबार बसेको बैठकले माघ २९ देखि फागुन ९ गतेसम्मको आन्दोलनका कार्यक्रम तय गरेको छ । जस अनुसार माघ २९ गते देशभरका सार्वजनिक स्थानमा कालोझण्डा गाड्ने र २ गते मोर्चामा आवद्ध दलहरुको संयुक्त कार्यकर्ता भेला गर्ने छन् । भेलाका लागि संयोजक दाहालसहितका ३५ नेतालाई प्रशिक्षक तोकिएको मोर्चामा आवद्ध सभासद शिवलाल थापाले जानकारी दिए । दाहालले काठमाडौंमा, बाबुराम भट्टराईले नेपालगञ्जमा, नारायणकाजी श्रेष्ठले झापामा, उपेन्द्र यादवले बिराटनगरमा, विजय गच्छदारले राजविराजमा, महन्थ ठाकुरले भैरहवामा सम्बोधन गर्नेछन् । ३० दलले ३ गते देशभर जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्णय गरेको छ । फागुन ९ गते कालो पट्टी र ब्यानरसहित देशभर जनप्रदर्शन र विरोध सभा गरिने सभासद थापाले जनाए ।
यसैबीच ३० दलले पहिलो चरणको आन्दोलनको अन्तिम दिन १६ गते काठमाडौंमा आमसभा गर्नेछ । यसलाई विपक्षीले सत्तामा हमला नाम दिएको छ । ३० दलको बैठकमा दाहालले १६ गतेको प्रदर्शनमा २ लाख कार्यकर्ता सडकमा उतार्न आग्रह गरेका छन् । उनले एक लाख मानिस आफ्नो दलले ल्याउने भन्दै अन्यलाई आफ्नो हिस्साको जिम्मा लिन आग्रह गरे । देशभरबाट कार्यकर्तालाई राजधानीमा ल्याउने दाहालको प्रस्ताव छ । मोर्चाका नेताहरुले भने एउटा बस काठमाडौंमा ल्याउन ३५÷४० हजारसम्म पर्न सक्ने भन्दै काठमाडौं र आसपासका क्षेत्रबाट मात्र कार्यकर्ता ल्याउन सुझाव दिएका छन् ।
बैठकले आन्दोलनका लागि गठवन्धनमा आवद्ध दलहरुबाट रकम उठाउने निर्णय समेत गरेको छ । बैठकमा दाहालले नै आन्दोलनका लागि सबै पार्टीबाट रकम उठाउने प्रस्ताव राखेका थिए । नेताहरुका अनुुसार संविधानसभामा भएका दलहरुबाट एक सभासद बराबर २० हजार रकम उठाइनेछ । संविधानसभामा नभएका दलहरुलाई भने रकम नतोकिएको र स्वच्छाले दिने बताइएको छ ।
बिहीबार बसेको मोर्चाको बैठकले आन्दोलनलाई प्रभावकारी बनाउन मोर्चामा आवद्ध दलका ३५ शीर्ष नेतालाई कार्यकर्ता प्रशिक्षणका लागि जिल्ला खटाएको छ । माघ–२९ गते देशभर सार्वजनिक स्थानमा कालो झन्डा गाड्ने, फागुन–२ गते संयुक्त कार्यकर्ता भेला गर्ने, ३ गते देशभर जिल्ला प्रशासन घेराउ गर्ने र ९ गते देशभर कालो पट्टी र ब्यानर सहितको जनप्रदर्शनको कार्यक्रम तय गरेको मोर्चाका नेता प्रमेबहादुर सिंहले बताए । मुख्य स्थानमा कार्यकर्ता भेलालाई प्रशिक्षण दिन ३५ जना नेता तय गरिएको सिंहले जनाए । पहिलो चरणको प्रचारात्मक आन्दोलन अन्तर्गतकै यो थप कार्यक्रम हो भएको उनले बताए । पहिलो चरण अन्तर्गत फागुन १६ गते काठमाडौंमा विशाल जनप्रदर्शन तथा सभा गर्ने घोषणा गरेको थियो । पहिलो चरणमा आन्दोलनका लागि करिब २९ लाख रुपैयाँ खर्च हुने मोर्चाको अनुमान छ । सबैभन्दा बढी खर्च पर्चा प्रकाशनमा हुनेछ । प्रमुख सचेतक पोखरेलका अनुसार पर्चा प्रकाशन गर्न करिब २५ लाख रुपैयाँ खर्च हुनेछ । यो रकम मध्ये १५ लाख रुपैयाँ मोर्चाको नेतृत्व गरिरहेको एमाओवादीले बेहोर्ने छ भने बाँकी रकम मोर्चाका अन्य दलले बेहोर्ने छन् ।


NEPAL NEWS Team
487 views

सम्बन्धित समाचारहरु