Wednesday, June 12, 2024

टाउको फोर्न भन्दा पानी पट्टी लगाउन ओलीको एमाओवादी अध्यक्षलाई सुझाव


  • February 5, 2015


टाउको फोर्न भन्दा पानी पट्टी लगाउन ओलीको एमाओवादी अध्यक्षलाई सुझाव

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाओवादी अध्यक्ष प्रचण्डलाई टाउको फुटाउने र मर्ने कुरा छाडेर सहमतिमा आउन आहृवान गरेका छन् । प्रेस चौतारी नेपालको सत्रौं स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले टाउको फुटाउने, रगत बगाउने र आन्दोलन गर्ने कुरा अब जनताले पत्याउन छाडिसकेको बताए ।

ओलीले भने– ‘टाउको फुटाउने धम्की हामीलाई नदिए हुन्छ, आन्दोलनका जनता आउनेवाला छैनन् । किन मर्ने अहिले ? आउनुस् संविधान बनाउँ, चुनाव जित्नुस्, सांसद–मन्त्री हुनुस, सरकार चलाउनुस् ।’ अघिपछि भन्दा एमाओवादीप्रति तुलनात्मक रुपमा नरम र लाक्षणिक ढंगले प्रस्तुत भएका ओलीले आन्दोलन गर्छौं भन्दा जनता र कार्यकर्ताले पत्याउन छाडेपछि प्रचण्डले टाउको फुटाउने शव्द प्रयोग गर्न थालेको बताए ।

उनले एमाओवादीलाई सहमतिका लागि वार्तामा आउन औपचारिक रुपमा आह्वान समेत गरे । ‘सहमति बिना संविधान बन्दैन, हामीले सहमति गर्न खोजिरहेकै छौं, आउनुस्’ ओलीले भने । ओलीले उत्तेजित ढंगले प्रस्तुत नहुन प्रचण्डलाई आग्रह गरे । ‘सिटामोल खानुस्, पानी पट्टी लाउनुस्, आवेग र उत्तेजना बन्द गर्नुस्’ ओलीले भने(‘कसैले सिठी फुक्दैमा जनता लाठा लिएर आपसमा भिड्न आउने कल्पना नगरे हुन्छ ।’
एमाले अध्यक्ष ओलीले कार्यकर्ताले आन्दोलन अस्वीकार गरेपछि र जातीय संघीयताको बिरोध गरेपछि प्रचण्डले उनीहरुलाई कांग्रेस एमालेमा जान धम्की दिएको दाबी गरे ।

‘अध्यक्ष ओलीले आफूलाई ३० दलीय मोर्चाले मानसिक सन्तुलन गुमेको शंका गर्दै स्वास्थ्य परीक्षण गर्न भनेकोबारे कुनै प्रतिक्रिया दिएनन् । उनले कतिपय प्रश्नको जवाफ दिन आवश्यक नहुने भन्दै जनताले नै जवाफ दिइरहेको र भविष्यमा दिने बताए ।


NEPAL NEWS Team
308 views

सम्बन्धित समाचारहरु