कपिलबस्तुमा कुपोषणले सात बालबालिकाको ज्यान गयो


  • February 5, 2015


कपिलबस्तुमा कुपोषणले सात बालबालिकाको ज्यान गयो

कपिलवस्तु । अति कुपोषित बालबालिकाको सूचीमा रहेको कपिलवस्तुमा कुपोषणकै कारणबाट सात बालबालिकाले अकालमै ज्यान गुमाएका छन् । गम्भीर कुपोषणको सिकार भएका उनीहरुको पहिचानपछि उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । अज्ञानता र चेतना अभावका कारण बीचैमा उपचार छाडेर सम्पर्कमा नआएपछि ती बालबालिकाको मृत्युभएको स्वास्थ्य कार्यालयका पोषण कार्यक्रमका स्रोत व्यक्ति विष्णु पौडेलले जानकारी दिए । ती बालबालिकाको पहिचान गरी स्वास्थ्य संस्थाको निगरानीमा उपचार गराइराखेको पौडेलले बताए । अभिभावकले घरमा लगेका बालबालिकालाई पछि उपचार नै गराउन नल्याएपछि उनीहरुले ज्यान गुमाउनु परेको उनको भनाइ छ । जिल्लामा भेटिएका नौ हजार ३५ जना कुपोषित बालबालिकामध्ये उनीहरुको मृत्यु भएको हो । पाँच महिनादेखि ५९ महिनासम्मका ६० हजार २३७ बालबालिकामध्ये त्यति बालबालिका कुपोषित भएको पाइएको हो ।
कुषोषितमध्ये ४० प्रतिशत पुड्के, १५ दशमलव २ प्रतिशत ख्याउटे र बाँकी कम तौलका भेटिएका हुन् । स्वास्थ्य सेवा विभागले जिल्लामा १५ दशमलव २ प्रतिशत बालबालिकामा कुपोषित रहेको तथ्याङकले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाभर गरेको अध्ययनअनुसार कुपोषित बालबालिकामध्ये दुई हजार ४०० को उपचार गरिएको थियो । यस्तै भिटामिन ए अभियान कार्यक्रममा स्क्रिनिङ गर्दा ४५३ बालबालिका थप कुपोषित बालबालिका भेटिएका थिए । यसैगरी जिल्लाका पाँच गाविसमा कुपोषणसम्बन्धी सुक्ष्म अध्ययन गर्दा तीन हजार ७७९ बालबालिकामध्ये ११८ जना कुपोषित देखिएको थियो । ती गाविसमा गाउँकै महिला स्वयम्सेविका घरदैलोमा पुगेर जाँच गरेका थिए । सिहोखोरमा ६६३ मध्ये छ जनामा, हरिहरपुरमा ७४५ मध्ये २२, भगवानपुरमा ६९३ मध्ये ३८, बासखोरमा एक हजार २२० मध्ये ४२ तथा उदयपुरमा ४५८ मध्ये १० जना कुपोषित बालबालिका भेटिएको स्रोत व्यक्ति पौडेलले जानकारी दिए । यस्तै जिल्लाका गर्भवती महिलामा रक्तअल्पताका बिरामीसमेत अधिक भेटिएका उनले बताए । सन्तुलित आहारको कमी र सरसफाइको कमीका कारण जिल्लामा कुपोषण गम्भीर समस्याका रुपमा देखिएको उनको भनाइ छ । जिल्लाका ग्रामीण भेगमा अझै नुन र भात मात्र खाने चलनले गर्दा कुपोषणको समस्या देखिएको उनले बताए ।
जिल्लामा कुपोषण गम्भीर समस्याका रुपमा देखा परेपछि त्यसको सुधारका लागि एकीकृत पोषण कार्यक्रम सञ्चालन गरिएको छ । सरकारी र गैरसरकारी निकायले एकीकृतरुपमा कुपोषणका विरुद्धको अभियानका लागि बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालित छ । स्वास्थ्य, जिविस, शिक्षा, खानेपानी सवडिभिजन काार्यालय, चार गैरसरकारी कार्यालयलगायत निकायले बहुपोषणका विषयमा कार्यक्रम सञ्चालन गरिरहेका छन् । यस्तै समुदायमा आधारित कुपोषण व्यवस्थापन, शिशु तथा बाल्यकालीन पोषण कार्यक्रम, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम चलाइएको छ । यस्तै गर्भपतन र २२ दिनको सुत्केरीलाई आइरन चक्की, पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ए, नियमित तौल अनुगमनलगायतका कार्यक्रम नियमितरुपमा सञ्चालत गरिरहेको छ । यस्तै गम्भीर कुपोषण भएका बालबालिकालाई जिल्लाका २३ स्वास्थ्य संस्थामा उपचारको व्यवस्था मिलाइएको युनिसेफ कुपोषण कार्यक्रमका अधिकृत आनन्द लाभले जानकारी दिए ।


NEPAL NEWS Team
225 views

सम्बन्धित समाचारहरु