Saturday, December 2, 2023

एमाओवादी गठबन्धनलाई फर्कन एमालेको आग्रह


  • February 4, 2015


एमाओवादी गठबन्धनलाई फर्कन एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले एमाओवादी र मधेसवादी दल लगायतको गठबन्धनलाई संविधानसभामा आउन र आपसी वार्ता र सम्वादद्वारा सबै समस्याको समाधान खोज्न आग्रह गरेको छ। संविधानसभामा दोस्रो ठूलो दल एमाले स्थायी समितिको संसदीय दलको कार्यालय सिंहदबारमा बुधबार बसेको बैठकले संविधानसभा, त्यस मातहतका सबै समिति र संसदीय समितिका बैठक बहिस्कार गरी आन्दोलनमा जाने घोषणा गरेको एमाओवादी नेतृत्वको गठबन्धनलाई औपचारिक रुपमा संविधानसभा नछाड्न आग्रह गरेको हो।

एमाले सचिव योगेश भट्टराईका अनुसार, बुधवारको बैठकले संविधानसभाबाट मुलुकको संविधान निर्माण गर्न सबै पक्षसँग मिलेर अघिबढ्ने प्रतिबद्धता व्यक्त गर्दै एमाओवादीलाई वार्तामा आउन र सबै विवादित विषयमा संविधानसभाभित्रै सहमति खोज्न सकिने बताएको छ। त्यसैगरी एमाले स्थायी समितिले दलहरुबीच वार्ताको माध्यमबाट सहमति खोज्ने कार्यसँगसगै संविधानसभाले संविधान निर्माणका लागि तय गरेको प्रक्रियालाई निरन्तर अघि बढाउनु पर्ने निर्णय गरेको छ।

संविधानका विवादित विषयमा लामो समयसम्म भएका छलफलबाट पनि सहमति कायम हुन नसकेपछि माघ ५ गते संविधानसभा अध्यक्षले नियमावलीको नियम ९१ अनुसार प्रश्नावली प्रस्ताव तयारी समितिको गठन गर्ने प्रक्रिया शुरु गरेका थिए। विधि र प्रक्रियामा बढ्न पनि सहमति आवश्यक भएको भन्दै बहुमतको आडमा पेलेर कांग्रेस र एमाले अघि बढ्न खोजेको आरोप लगाउदै एमाओवादी गठबन्धनले संविधानसभाको बैठक अबरोध गरेको थियो।

निरन्तर सहमतिको प्रयासका बाबजूद पनि समस्या समाधान नभएपछि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले माघ ११ गते आफैले समिति गठनको प्रस्ताव सदनमा राखी विरोधका बाबजूद पारित गरेका थिए। त्यसको विरोधमा एमाओवादी गठबन्धनले पहिले सरकार, कांग्रेस, एमाले र सभाध्यक्ष नेम्वाङलाई असहयोग गर्दै सडक आन्दोलनमा जाने घोषणा गरेको थियो। तर त्यसको केही दिनपछि संसदीय समिति र संविधानसभा बैठक समेत बहिष्कार गर्ने निर्णय सार्वजनिक गरेको थियो।

प्रश्नावली प्रस्ताव तयारी समितिले थप पाँच दिनको समय थप गर्न आग्रह गर्ने निर्णयलाई अनुमोदन गर्न सभाध्यक्षले बिहिबार अपरान्ह १ बजेका लागि संविधानसभाको बैठक डाकेका छन्। त्यसैगरी एमाले स्थायी समितिले एमाओवादी गठबन्धनले गरेको निर्णयको विषयमा कुनै पनि छलफल नभएको भट्टराईले बताए।


NEPAL NEWS Team
191 views

सम्बन्धित समाचारहरु