काठमाडौं । एमाले भ्रातृ संगठन युवा संघ नेपालको अध्यक्षबाट महेश बस्नेतले बिदा लिएका छन् । उनीसहित बरिष्ठ उपाध्यक्ष झपट रावलले पनि संगठनबाट बिदा लिए । बस्नेत उद्योग मन्त्री नियुक्त भएपछि युवा संघको कार्यवाहक जिम्मा निरु पाललाई दिएका थिए । उमेर हदबन्दीका कारण बस्नेतले अर्को कार्यकालका लागि नेतृत्व दाबी गर्न मिल्दैन थियो ।
युवा संघ विधानमा ४० वर्षे हदबन्दी तोकिएको छ । बस्नेत दुई पटक युवा संघ अध्यक्षमा निर्वाचित भएका थिए । संघको अध्यक्षमा कार्यवाहक अध्यक्ष निरु पाल चयन भएकी छन् । एमाले वैकल्पिक केन्द्रीय सदस्यसमेत रहेकी उनी यसअघि उपाध्यक्ष थिइन् ।
स्थायी कमिटीको बुधबार बसेको बैठकले अध्यक्षमा निरु पाललाई चयन गर्दै पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । रिक्त दुई उपाध्यक्षमा कोषाध्यक्ष गोविन्द थापा र सचिव सरोजदिलु विश्वकर्मा बढुवा भएका छन् । कोषाध्यक्षमा कार्यालय विभाग प्रमुख माधव बास्तोला, अनेरास्ववियुको राजनीतिमा रहेका वचन सिंहलाई सचिव, र प्रचार विभाग प्रमुख प्रभातविक्रम कटुवाललाई स्थायी कमिटी सदस्य र कार्यालय विभाग प्रमुख बनाइएको छ ।