संसदीय सुनुवाई बिषेश समितिद्धारा उपाध्याय र कार्की राजदूतमा अनुमोदित


  • February 4, 2015


संसदीय सुनुवाई बिषेश समितिद्धारा उपाध्याय र कार्की राजदूतमा अनुमोदित

काठमाडौं । विपक्षी दलको उपस्थिति बिना पहिलो पटक संसदीय सुनुवाई विशेष समितिले भारत र अमेरिकाका लागि नेपाली राजूदत पदमा सिफारीस भएका दुई व्यक्तिको नाम अनुमोदन गरेको छ। लामो समयदेखि रिक्त रहँदै आएका अति महत्वपूर्ण राष्ट्रका रूपमा मानिने भारत र अमेरिकाका लागि दलिय भागवण्डाका आधारमा क्रमश कांग्रेसका केन्द्रीय सदस्य दीपकुमार उपाध्याय र एमाले निकट गैरसरकारी संस्थामा कार्यरत अर्जुन कार्कीलाई सिफारीस गरेको थियो। बुधबार बसेको सुनुवाई समितिको बैठकमा सिफारीसमा परेका व्यक्तिहरु उपर गम्भीर उजुरी नपरेपछि प्रारम्भिक छलफलका लागि डाकिएको बैठकले उपाध्याय र कार्कीलाई सोझै सुनुवाईका लागि आमन्त्रण गरी अनुमोदन समेत गरेको छ।
कार्कीको विरुद्ध एक जना उजुरीकर्ताले बेनामी उजुरी हाल्दै उनको कुटनीतिक अनुभव नभएको, सरकार विरोधी र गैरसरकारी संघसंस्थाको माफिया रहेको आरोप लगाएपनि कुनै ठोस प्रमाण नहुनुका साथै समितिमा अधिकांश सरकार समर्थित दलका सदस्यहरु रहेकोले सहजै अनुमोदन गरेको हो।
यसअघि औपचारिक सुनुवाईमा समिति सदस्य राजन भट्टराईले अमेरिकाले दक्षिण एसियामा सम्बन्ध बिस्तार गर्न चाहेको अवस्थामा त्यसको बारेमा कार्कीको धारणा मागेका थिए।
नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेले पश्चिमा देशले नेपाललाई प्रयोग गरेर चीनसँगको सम्बन्ध बिगार्न प्रयोग गर्ने आशंका व्यक्त गर्दै त्यसबारे कार्कीको सोचाई के रहेको भन्ने जवाफ मागेका थिए। साथै उनले लामो समय एनजीओमा काम गरेको मानिसलाई राजदूत बनाउँदा नेपाललाई फाइदा हुन्छ कि अमेरिकालाई भन्ने समेत प्रश्न गरेका थिए।भीम रावलले अमेरिका र नेपालको संम्बन्ध विकास गर्न के कस्तो योजना तयार पारेको भन्ने प्रश्न राखेका थिए। कांग्रेसका हृदयराम थानीले कार्की विरुद्ध गैरसरकारी संस्थाको माफिया र सरकार विरोधी गतिविधिमा संलग्न व्यक्ति भनी लागको आरोपको स्पष्टीकरण माग गरेका थिए।सदस्यहरुको जिज्ञासा शान्त पार्दै अमेरिकाका लागि प्रस्तावित राजदूत कार्कीले आफू नेपाललाई होच्याउने र सरकार विरोधी गतिविधिमा नलागेको दाबी गरे।
म अहिले अति कम विकसित राष्ट्रहरुको संस्थामा काम गर्छु। गरिब राष्ट्रहरुको स्वार्थ अन्तर्राष्ट्रिय समुदायमा वकालत गर्ने गरेको छु। म जहाँ बसेपनि राष्ट्रको हितमै काम गर्छु। राजदूतले सरकारको नीति अनुसार नै काम गर्छ, उनले भने।
नेपालीको पहिचान र नेपालको गरिमा बढाउने आफ्नो पहिलो प्राथमिकताको काम हुने पनि कार्कीले बताउँदै राष्ट्रको मान मर्दनमा कहिल्यै आफ्नो तर्फबाट हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
उनले आफू राजदूत भएर गएपछि अति विकसीत देशहरुमा कम भन्सार लगाउने विषयमा पहल गर्ने बताए।
साथै सरकारको प्रतिनिधिका रुपमा समस्यामा परेका नेपालीहरुलाई साधन र स्रोतले भ्याएसम्म उद्धार गर्ने पनि बताए।
नेपाल चीन सम्बन्ध र नेपाल अमेरिकाको सम्बन्ध ६० को दशकमा नेपाल र चीनको सम्बन्धलाई महत्व भत्काउने प्रयास भएका थिए। तर अहिले छिमेकीको सम्बन्ध परराष्ट्रको नीति अनुसार नै गर्छु।
मानव तस्करी र शरणार्थी स्मस्या समाधान गर्न गम्भीर हुनुपर्छ।
शरणार्थीको बारेमा हाम्रो परराष्ट्र नीति र राष्ट्रिय प्राथमिकताको विषय के हुन्छ त्यसैमा रहेर काम गर्ने उनले बताए। भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायाको विरुद्ध भने कुनै पनि उजुरी परेको थिएन।सुनुवाई समितिमा उपस्थित उपाध्यायालाई एमाले सदस्य रविन्द्र अधिकारीले १२ बुदे समझदारी देखि नै भारतले नेपाललाई संकाको दृष्टिले हेर्दै अहिले संविधान निर्माणमा असफल बनाउन भित्री रुपमा लागेको भन्ने सुनिएको उल्लेख गर्दै भारतीय पक्षले असहयोग गरेकोमा अहिले नेपालको संविधान र शान्ति प्रक्रिया असफल बनाउँदा भारत असफल हुदैन ? त्यसमा तपाइको भूमिका के रहन्छ भन्ने प्रश्न राखेका थिए।
राष्ट्रिय जनमोर्चाका चीत्रबहादुर केसीले नेपाल र भारतका जनताको समस्या एउटै स्तरको छ। तर पनि भारतले आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा हस्तक्षेप गरेको भन्दै राष्ट्रिय अखण्डता र राष्ट्रिय हितमा केन्द्रीत रहेर काम गर्न सुझाव दिए।
नारायणमान विजुक्छे नेपाल भारतको सम्बन्ध असाध्यै राम्रो छ भन्छौ तर वर्षौदेखि राजदूत रिक्त रहन्छ। भारतको बडाराष्ट्र अंहकारबाट पीडित छौ हामी। सबभन्दा बढी समस्या भारत सँगै छ। यी समस्या समाधान गर्न तपाईको भूमिकामा के रहन्छ ? भनि प्रश्न गरेका थिए।


NEPAL NEWS Team
215 views

सम्बन्धित समाचारहरु