काठमाडौं । आज विश्व क्यान्सर दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । अव्यवस्थित जीवनशैली , प्रदुषण र तनावका कारण नेपाल सहित विश्वमा क्यान्सरका विरामी बढ्दै गएका छन् । दिवसको अवसरमा विश्व स्वास्थ्य संगठनले खानपान, सबै विरामीलाई उपचारको पहुँच र क्यान्सर विरुद्ध जनचेतनामूलक कार्यक्रमलाई जोड दिएको छ । क्यान्सर विरुद्ध मानिसलाई सचेत गराउनु यो दिवसको मुख्य उद्देश्य भएको संगठनले जनाएको छ । खानपान र जीवनशैलीमा ध्यान पुर्याए क्यान्सरबाट जोगिन सकिने वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर राजेन्द्र बरालले बताए । नेपालमा सुर्ती र चुरोटका कारण हरेक वर्ष क्यान्सरका विरामी बढ्दै गएका उनले बताए । नेपालमा फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका विरामी धेरै छन् । अर्का डाक्टर सुनिलकुमार शर्माका अनुसार उपचारमा गएपनि अझै ४० प्रतिशत क्यान्सर निको नहुने भएकाले बेलैमा सचेत हुनुपर्छ । उपचार पछि ६० प्रतिशत क्यान्सर निको हुने भए पनि ४० प्रतिशत निको नहुने उनको भनाइ छ । ४० प्रतिशत क्यान्सर अन्तिम अवस्थामा मात्र देखिने भएकाले उपचारमा जटिलता भएको हो । एक्कासी तौल घटे, खानामा अरुची बढे, टाउको दुखे , वान्ता भईरहे, महिनावारी रोकिएपछि पनि फेरि रगत देखिए र स्तनमा डल्लो जस्तो गिर्खा देखिए क्यान्सरको लक्षण हो । यस रोगबाट जोगिन चिल्लो, पिरो, भुटेको र तारेको खाना नखान डाक्टरहरुको सुझाव छ ।