काठमाडौं । नयाँ संविधानका विवाद मतदानमार्फत टुंग्याउन प्रश्नावली तयार गर्न गठित प्रस्ताव निर्माण समितिको म्याद ५ दिन थप्ने तयारी भएको छ। माघ ११ गते संविधानसभा बैठकले पहिलो बैठक बसेको पाँच दिनभित्र प्रश्नहरु तयार गर्ने गरी समिति गठन गरेको थियो। त्यो समयसीमा अपुग हुने देखिएपछि म्याद थप्ने तयारी भएको हो।
‘समिति गठन हुँदा ५ दिनको समयसीमा दिइएकाले त्यसमा थप समय दिँदा पनि ५ दिनभन्दा बढी थप्न मिल्दैन,’ संविधानसभा सचिवालयस्रोतले भन्यो, ‘निर्धारित समयमा काम पूरा नभए ५–५ दिन गरेर समय थप्दै लैजानुपर्छ।’
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले समितिको म्याद थप्न बिहीबार दिउँसो १ बजे संविधासभा बैठक आह्वान गरिसकेका छन्।
‘प्रस्ताव निर्माण समितिले प्रश्नहरु तयार पारेमा त्यसमाथि छलफल सुरु हुन्छ, होइन भने समितिलाई संविधानसभा बैठकले समय थपिदिनेछ, सचिवालयस्रोतले भन्यो। सभाध्यक्ष नेम्वाङ समितिको म्याद थप्दा दलहरुले सहमति गर्ने समय पाउने हुँदा थप्ने पक्षमा छन्।
प्रस्ताव निर्माण समितिले एमालेका प्रमुख सचेतक अग्नि खरेलको संयोजकत्वमा गठित प्रश्नावली निर्माण उपसमितिले समयावधि एक दिन मात्रै बाँकी रहेको अवस्थामा तीन शीर्षकमा मात्र प्रश्न तयार पारेको छ।
‘मंगलबार दिनभर उपसमितिले काम गर्दा तीनवटा शीर्षकमा मात्रै प्रश्न निर्माण गर्न सकेको छ। ‘एउटा विषयमा पनि पार्टीपिच्छे र सभासदबीच फरक–फरक धारणा संविधानसभामा प्रस्तुत भएकाले त्यसलाई सबैलाई समेट्न आवश्यक छ,’उपसमितिकी सदस्य श्रीमाया थकालीले भनिन्, ‘सबैको धारणा नछुटोस् भनेर मिहीन रुपमा काम गर्नुपर्ने हुन्छ। एउटा विषयमा तीन, चार वा पाँचवटा समेत प्रश्न बनाउनुपर्ने देखिएको छ। यो काम निकै जटिल छ।
थकालीले बुधबार पनि बिहानैदेखि उपसमितिले काम गर्ने बताइन्। उपसमितिको मंगलबार बैठकले प्रस्तावना, मौलिक अधिकार र संवैधानिक निकायबारे तयार पारेको प्रश्नहरु समितिको बैठकमा प्रस्तुत गरेको थियो।