काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य फेरि घटाएको छ । निगमले डिजेल र मट्टितेलमा डेढ रुपैयाँ तथा पेट्रोलमा दुई रुपैयाँ ५० पैसा मुल्य घटाएको हो । निगमले सोमबार राति १२ बजेदेखि कार्यान्वयन हुने गरी नयाँ मूल्य तोकेको हो । घटेको भाउ अनुसार अब डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ८६ रुपैयाँ ५० पर्छ। यसअघि यी पदार्थको मूल्य ८८ रुपैयाँ प्रति लिटर थियो। यस्तै पेट्रोलको मूल्य प्रतिलिटर एकसय नौ रुपैयाँ पर्नेछ । यसअघि पेट्रोलको मूल्य एकसय ११ रुपैयाँ ५० पैसा थियो ।
भारतीय आयल निगमबाट नयाँ मूल्य सूची प्राप्त हुने बित्तिकै मूल्य समायोजन गरेको हो । स्वचालित मूल्य प्रणाली अनुसार निगमले आइतबार नै भाउ घटाउनु पर्ने भएपनि भारतमा बिदा परेकाले सोमबारमात्रै मूल्य समायोजन भएको हो । निगमले असोज १३ गते यता हरेक १५÷१५ दिनको अन्तरमा पेट्रोलिमयम पदार्थको मूल्य समायोजन गर्दै आएको छ ।
नयाँ मूल्य अनुसार निगमलाई अब ग्यासमा प्रतिसिलिन्डर ४० रुपैयाँ मात्रै घाटा छ । यसअघि यो घाटा बढेर ११ सय रुपैयाँसम्म पुगेको थियो । ग्यासमा घाटा उल्लेख्य रुपमा घटेसँगै निगमको नाफा भने बढ्ने देखिन्छ । निमगले गत महिना नाफाबाट ऋणका लागि ३४ करोड ८० लाख रुपैयाँ छुट्याएको थियो । निगमले खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरेको छैन । यसअघि निगमले यही माघ ४ गते पेट्रोलियम पदार्थको भाउ घटाएको थियो ।