कास्की । पोखरा भ्रमणमा आउने चिनिया पर्यटकको संख्या ह्वात्तै बढेपछि यहाँका पर्यटन व्यवसायीहरुले चिनियालाई लक्षित पूर्वाधार र लगानी बढाउने अभियान थालेका छन् । चिनिया पर्यटक बढेसँगै व्यवसायीहरुले उनीहरुलाई नै लक्षित गरी खानपान, बसोबासको प्रवन्ध गर्न लागेका हुन् । बाह्र महिनालाई पर्यटनका हिसावले सिजन र अफ सिजन भनी दुई भागमा बाँडिएको पोखराको पर्यटन उद्योग चिनियाको बढ्दो आवागमनसँगै सबै महिना पर्यटकीय सिजनमा परिणत भएको छ । पश्चिमाञ्चल होटल संघ पोखराका द्वितीय उपाध्यक्ष लक्ष्मण सुबेदीले चिनियाका लागि प्रशस्त रेष्टुराँ, उनीहरुका लागि खाना र दोहोरो कुराकानीका लागि भाषा सुधारका अभियानमा व्यवसायीहरु रहेको बताए ।
पूर्वाधार विस्तारसँगै पश्चिमाञ्चल होटल संघले चिनिया पर्यटकलाई लक्षित गरी उनीहरुकै भाषामा प्रचार सामग्री छाप्ने र चीन लगायतका तेश्रो मुलुकहरुमा ‘पोखरा ः प्युर एण्ड पर्फेक्ट’ अभियान चलाउने उद्धेश्य समेत राखेको संघका पूर्व अध्यक्ष विप्लव पौडेलले बताए । चिनिया पर्यटकलाई लक्षित गरी रेष्टुराँका भान्छेहरुलाई सोही अनुसारका तालीम दिन जरुरी रहेको र टुर गाईड र पदयात्रामा जाने पथप्रदर्शकलाई भाषाको ज्ञान दिन जरुरी भएको उनको भनाई छ ।
नेपाल पर्यटन वोर्डका पूर्व सदस्य टिकाराम सापकोटाले पोखरा चिनिया पर्यटकका लागि आकर्षक गन्तव्य भए पनि भाषाका कारण व्यवसायी र पर्यटक दुबैले समस्या भोग्नु परेको बताए । चिनिया पर्यटक खासगरी चिनिया खाना, छोटो र सजिलो खालको पदयात्रा तथा प्याराग्लाइडिङ जस्तो खेल भने पछि हुरुक्कै हुने उनको धारणा छ । चिनिया पर्यटकको नेचर खर्चालु र बढी टिप्स दिने खालको भएको अनुभव व्यवसायीसँग रहेको छ ।
पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सूर्यवहादुर भुजेलले पोखरामा रहेका करीब एक सय पर्यटकीय स्तरका रेष्टुराँ मध्ये १५ वटाले चिनिया खाना पस्कने गरेको जानकारी दिए । यस अघी पोखरा र आसपासका पर्यटकीय क्षेत्रमा खासगरी बेलायती र अमेरिकी पर्यटकको रुचीलाई ध्यान दिँदै भान्छामा उनीहरुले मन पराउने परिकार मात्रै पाक्दै आएको थियो । अमेरिकी र बेलायतीहरुले अण्डा, पाउरोटी, पिज्जा लगायतका खानेकुरा मन पराउने भए पनि चिनियाहरु भने मासु र नुडल्सजस्ता खानेकुरा मन पराउने गर्छन् । एउटा कुखुराको मासु एकै जनाले खानसक्ने पनि उनीहरुको विशेषता हो ।
विगत तीन वर्षदेखि पोखरा आउने पर्यटकको तथ्यांक राख्न छाडिएको छ, त्यही भएर पनि कति चिनिया पर्यटकले पोखराको भ्रमण गर्छन् भन्ने तथ्यांक भने उपलब्ध छैन । तर, पर्यटन मन्त्रालयको तथ्यांक अनुसार सन् २०१४ मा कूल ८९ हजार पाँच सय नौ चिनिया पर्यटकले नेपाल भ्रमण गरेका थिए । काठमाडौं आउने पर्यटकमध्ये झण्डै ४० प्रतिशत पर्यटक पोखरा आउने गरेको दाबी व्यवसायीको छ ।