प्रश्नावली प्रस्ताव समितिको पहिलो बैठक


  • January 31, 2015


प्रश्नावली प्रस्ताव समितिको पहिलो बैठक

काठमाडौँ । एमाओवादी नेतृत्वमा रहेको १९ दलीय सङ्घीय लोकतान्त्रिक मोर्चाको विरोध र नाराबाजीका बाबजुद संविधानसभा अध्यक्ष सुवास नेम्वाङले गठन गरेको संविधानका अन्तरवस्तुसँग सम्बन्धित प्रश्नावली तयार पार्ने प्रस्ताव निर्माण समितिको पहिलो बैठक आज बस्दैछ । संविधानसभा सचिवालयका प्रवक्ता मुुकुन्द शर्माका अनुसार पहिलो बैठकको अध्यक्षता समितिका सदस्यहरुमध्ये सबैभन्दा ज्येष्ठ सदस्यले गर्नु हुनेछ । साथै पहिलो बैठकले समितिको कार्यविधि तयार पार्नुका साथै समितिका काम कारबाही कसरी अघि बढाउने भन्ने सम्बन्धमा छलफल गर्नेछ ।

एमाओवादी र मधेसवादी दलका सभासद् सहभागी नभए पनि समितिले आफ्ना कार्य अघि बढाउन सक्ने सत्तापक्षका सभासद्ले बताएका छन् । समितिलाई एमाओवादी र मधेसवादी दलका सदस्य नभए पनि आफ्नो कार्यदेश अघि बढाउने वैधानिक अधिकार भएको काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिए । बैठक सुरु भएपछि पाँच दिनको कार्यावधि पाएको यस समितिले संविधान निर्माणका मुख्य विवादित विषय राज्य पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीबाहेक अन्य सहमति हुन बाँकी विषयमा पनि प्रश्नावली तयार पार्नेछ ।

यही माघ ११ गते एमाओवादी नेतृत्वको मोर्चाका सभासद्हरुको नाराबाजीका बावजुद सभाध्यक्ष सुवास नेम्वाङले प्रश्नावली तय गर्नका लागि उक्त प्रस्ताव निर्माण समितिमा रहनुहुने ७३ मध्ये ४९ सदस्यको नाम पढेर सुनाउनुभएको थियो । सभाध्यक्ष नेम्वाङले प्रस्तुत गर्नुभएको सो प्रस्तावलाई संविधानसभाको बहुमतले स्वीकृत गरेको थियो । सो प्रस्ताव ध्वनिमतका आधारमा स्वीकृत भएको थियो ।

सभाध्यक्षको निर्देशनमा बस्ने सो समितिले संविधान निर्माणमा देखिएका विवादित विषयलाई प्रश्नावलीका रूपमा प्रस्तुत गरी संविधानसभामा पेस गर्ने कार्यादेश पाएको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले प्रस्तुत गरेका असहमतिका बुँदाहरूलाई केन्द्रित गरेर समितिले प्रश्नावली बनाउनेछ ।


NEPAL NEWS Team
321 views

सम्बन्धित समाचारहरु