पशुपतिमा पैसा तिरेर पूजाको व्यवस्था हटाउन सर्वोच्चको आदेश


  • January 29, 2015


पशुपतिमा पैसा तिरेर पूजाको व्यवस्था हटाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सबै भक्तजनलाई पशुपतिनाथको गर्भगृहभित्र फूलप्रसाद चढाउन समान पहुँच दिन पशुपति विकास कोषलाई परमादेश दिएको छ। पशुपतिनाथको दर्शन गर्न जाने भक्तजनलाई आफैं बेलपत्र, फूलप्रसाद चढाउन भेदभाव गरेको दाबीसहित दायर रिटमा सर्वोच्चले कोषलाई परमादेश दिएको हो।

एक हजार एक सय रुपैयाँ तिर्ने भक्तजनले भट्ट एवं भण्डारीमार्फत मूर्तिमा फूलप्रसाद चढाउने र टीकाप्रसाद लगाउने सुविधा पाए पनि आमसर्वसाधारणले भने ढोकाबाहिरको भाँडोमा विसर्जन गर्नुपर्ने बाध्यता रहेको भन्दै अधिवक्ता राजीव सिन्हाले रिट दायर गरेका थिए।

भेदभाव भएका कारण सर्वसाधारणको धार्मिक आस्थामा चोट पुगेको जिकिर उनको थियो। उक्त विवादमा बुधबार तयार गरिएको पूर्णफैसलामा कोषलाई पशुपतिनाथको पूजामा विशेष वा साधारण भक्तजनको वर्गीकरणका नाममा भेदभाव नगर्न आदेश दिइएको छ।

पशुपतिनाथको पूजामा विशेष वा साधारणका रूपमा वर्गीकरण गरी एउटालाई गर्भगृहसम्म प्रवेश दिने र अर्कालाई इन्कार गर्नेजस्ता भेदभावपूर्ण र अवरोधजन्य कार्य नगर्नूु, न्यायाधीश कल्याण श्रेष्ठ र सुशीला कार्कीको संयुक्त इजलासको आदेशमा उल्लेख छ।

अन्तरिम संविधान, २०६३ को धारा २३(१) ले प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हकको सुनिश्चित हुने व्यवस्था गरेको भन्दै समानता कायम गर्न कोषका नाममा परमादेश जारी गरेको हो।

मन्दिर तथा पूजा व्यवस्था नियमावली, २०६८ को नियम ७९ (१) मा कोषले भक्तजनलाई सरल र व्यवस्थित रूपले पशुपतिनाथको दर्शन गर्नसक्ने व्यवस्था मिलाउने व्यवस्था रहेको सर्वोच्चले जनाएको छ।

परापूर्वकालदेखि चलिआएको धार्मिक आस्था एवं मान्यतामाथि चोट पुग्ने गरी अन्यथा निर्णय गर्नु मनासिब हुने देखिन्न परमादेशमा लेखिएको छ, पूजा गर्दा विशेष पूजाको सामग्रीले असंगत प्रवेश पाउने र सामान्य पूजाले भने पशुपतिनाथको मूर्ति रहेको स्थलमा प्रवेश नपाई ढोकाबाहिर नै थन्काउन पर्ने अवस्था बाञ्छनीय छैन। पूजासामग्रीको सही व्यवस्थापनका लागि भण्डारी र भट्टबीच समन्वय आवश्यक भएमा प्रबन्ध मिलाउनसमेत इजलासले कोषलाई भनेको छ।

ुबिनाभेदभाव पूजासामग्रीको हकमा आवश्यक परीक्षण वा सर्त तोक्नुपर्ने भए तोकी पूजा गर्न ल्याएको सामग्री मूर्ति रहेको क्षेत्रभित्र अर्थात् ढोकाभित्र सम्भव भएसम्म गर्भगृहभित्र नन्दी रहेको क्षेत्रसम्म प्रवेश दिन अविलम्ब जो चाहिने व्यवस्था गर्नुगराउनु भनी विपक्षीका नाममा परमादेश जारी हुने ठहर्छु, सर्वोच्चको आदेशमा उल्लेख छ।

सर्वोच्चले कोषको जिम्मेवारी भक्तजनको आस्था र क्षमताअनुसार पूजा गर्न बाधा गर्ने नभई सहजीकरण गर्ने रहेको भन्दै स्मरण पनि गराएको छ। रिट निवेदक सिन्हाले कोषले भक्तजनमा समानता कायम गर्न परमादेश बाध्यकारी हुने बताए।

समग्र भक्तजनको हितमा सर्वोच्चबाट फैसला भएको छु, सिन्हाले भने, अब पशुपतिनाथका गर्भगृहभित्र नन्दी रहेको क्षेत्रसम्म सबै भक्तजन आफैंले बेलपत्र चढाउन पाउनेछन्। ढोका बाहिरै रा नुपर्ने छैन।


NEPAL NEWS Team
369 views

सम्बन्धित समाचारहरु