सभाध्यक्षद्धारा आज प्रश्नावली समितिको प्रस्ताव


  • January 25, 2015


सभाध्यक्षद्धारा आज प्रश्नावली समितिको प्रस्ताव

sambidhan sabhaकाठमाडौं । संविधान निर्माण प्रक्रियामा संविधानसभाको बैठकले आज निर्णायक मोड लिने भएको छ । प्रमुख दलहरूबीच सहमति नभए सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले नै आज संविधानसभामा प्रश्नावली समितिको प्रस्ताव गर्ने भएका छन् । बिहानसम्म सहमति भइसके छैन । आज सहमति भएपनि वा नभएपनि निर्णायक मोडका रुपमा संविधानसभाको बैठकलाई हेरिएको संसद सचिवालयले जनाएको छ ।
एमाओवादी नेतृत्वको १९ दलीय मोर्चाले प्रश्नावली समितिका प्रस्तावक चिनकाजी श्रेष्ठलाई रोस्ट्रम प्रवेश गर्न नदिएपछि सभाध्यक्ष नेम्वाङ आफैंले संविधानसभा नियमावलीको नियम ९१ बमोजिम प्रस्ताव पेस गर्ने तयारी गरेका हुन् । सभाध्यक्षले प्रस्ताव पेस गरे संविधानसभामा कायम सदस्यमध्ये दुई तिहाइभन्दा बढी मतले पारित गरेर समिति बनाउने सत्तारूढ राजनीतिक दलको तयारी छ । विपक्षी मोर्चा भने त्यसको प्रतिवाद गर्ने तयारीमा छ । समितिका लागि प्रस्ताव पक्षधर दलहरूका तर्फबाट ४५ सदस्यको नामावली पनि तय भइसकेको छ ।
एमाओवादी नेतृत्वको १९ दलीय मोर्चाले भने संविधानसभाको बैठक दस दिन स्थगित गर्न आग्रह गर्दै नभए प्रस्ताव अघि बढाउन नदिने रणनीति लिएको छ । स्रोतका अनुसार सभाध्यक्षको भूमिका अहिलेसम्म तटस्थ रहेकाले अब कुनै पनि हालतमा कांग्रेस–एमालेको लहडमा लागेर आफैं प्रस्ताव पेस नगर्न उनीहरूले आग्रह गरेका थिए ।
तर, सभाध्यक्ष नेम्वाङले आफू एक्लैले संविधानसभाको बैठक स्थगित गर्न नसक्ने बताउँदै अन्य दलहरूलाई यो प्रस्ताव राखिदिने आश्वासन दिएका थिए । उनले आफु पछि फर्किन नसक्ने भएकाले कि सहमति गर्न नभए वाध्यता बुझ्न आग्रह गरेका छन् । उनले बिहान दलका नेताहरुसँग छलफलको तयारी गरेको उनी निकट स्रोतले जनाएको छ ।


NEPAL NEWS Team
273 views

सम्बन्धित समाचारहरु