यसरी बन्यो सुनकली


  • January 6, 2015


यसरी बन्यो सुनकली

यसरी बन्यो सुनकली

– भोजराज भाट
गत अप्रिल–जुनमा सम्पन्न फिफा वल्र्डकपमा मुगुकी सुनकलीले निकै चर्चा पाइन् । वल्र्डकप चलिरहँदा सबैको ध्यान अर्जेण्टिनाका लियोनल मेसीतिर थियो । र, सँगसँगै नेपालका नेपाली अनलाइन र सोसल मिडियाले दुर्गम मुगुकी एक जना किशोरी सुनकली बुढा १३, लाई मेसीसँग तुलना गरिरहेका थिए । मेसीले आफ्नो देशलाई वल्र्डकप दिलाउन सकेनन् तर सुनकलीले आफ्नो गृहजिल्ला मुगुलाई राष्ट्रिय कप दिलाउन सफल भइन् । त्यसैले सुनकलीको ‘हाइ–हाइ’ भयो ।
तिनै मुगाली किशोरीको खेलगाथामा आधारित मैले निर्देशन गरेको डकुमेन्ट्री सुनकलीले एक हजार अमेरिकी डलर राशिको इसिमोड अन्तर्राष्ट्रिय उत्कृष्ट डकुमेण्ट्री पुरस्कार र जुरी अवार्ड गरी दुइटा ट्रफी पाउन सफल भयो । यो डकुमेन्ट्री बनाउँदाका आफ्नै दुःख र दर्दहरु छन् । अहिलेको परिणाम त दुई वर्षको मिहिनेतपछिको फल मात्र हो ।

सुनकली डकुमेन्ट्रीको यात्रा त सन् २०१२ को अन्तिमतिर प्रारम्भ हुन्छ, जतिवेला काठमाडौंमा किम्फ फेस्टिभल चलिरहेको थियो । त्यहाँ विभिन्न देशका डकुमेन्ट्रीहरू मैले हेरेको थिएँ । त्यही बेला आकस्मिक रूपमा मलाई घर (कैलाली) जानुपर्ने भयो । घर जाँदा मैले एकजना मित्र फोटो पत्रकार प्रकाश केसीलाई पनि लगेको थिएँ । मेरो गाउँको नजिकै १५ वर्षभन्दा मुनिका छात्राहरूको राष्ट्रियस्तरको फुटबल प्रतियोगिता भइरहेको थियो । त्यहाँको गेम हेर्न हामी पनि गयौं । पहिलो खेल टिम मुगु र काठमाडौंको एउटा टिमको बीचमा भएको थियो । त्यसमा मुगुकी सुनकलीले ह्याट्रिक गरिन् । हेर्दाखेरि फुच्ची, तर फूर्तिली सुनकली । त्यस्तो फुच्चीले गोल गरेको देखेर हामीलाई अचम्म लाग्यो । त्यसपछि हामीले टिम मुगुलाई फलो गर्दै ग¥यौं । नभन्दै मुगुले खेल जित्दै गएर फाइनलमा पुग्यो । फाइनलमा पुगेपछि अझ हामीलाई कौतुहल जाग्यो । नभन्दै फाइनलमा मुगुले जित्यो । त्यसपछि हामीलाई टिम मुगुको मुगुमा निकै ठूलो स्वागत हुँदैछ रे भन्ने समाचार आयो । त्यसपछि हामीहरु मुगुको चेलीले कसरी खेल जित्न सके भनेर यसको पृष्ठभूमि खोज्न हामी पनि उनीहरूको पछि लाग्यौं । हामीसँग कुनै ठोस् योजना थिएन । जे देखियो खिच्दै गयौं । मुगुमा उनीहरूको भव्य स्वागत भयो । त्यो देखेर हामी अझै बढी खोजी गर्न थाल्यौं । हामीले पहिलेका फुटेज पनि संकलन गर्न थाल्यौं ।
वास्तवमा मैले आफ्नै प्रयासमा डकुमेन्ट्री नबनाए पनि विदेशी निर्देशकहरूसँग धेरै काम गरिसकेको थिएँ । विभिन्न विदेशी डकुमेन्ट्रीमा असिस्टेन्टको काम गरेको थिएँ । त्यो अनुभव पनि काम लाग्यो । निश्चय पनि यो डकुमेन्ट्री बनाउन सजिलो थिएन । कैलालीमा भएको प्रतियोगितामा सुनकलीको टिमका साथीहरू ९० मिनेटसम्म नथाकीकन जसरी दौडेका थिए । त्यसैगरी उनीहरू डाँडापाखामा पनि दौडिँदा रहेछन् । हामीलाई क्यामेरा बोकेर उनीहरूलाई पछ्याउन निकै गाह्रो भयो । सास फुलेर बिजोग हुन्थ्यो । क्यारेक्टरलाई विभिन्न एंगलबाट फलो गर्न निकै मुस्किल भयो । हामीले धेरै ठाउँमा उनीहरूलाई रोक्नु प¥यो । तीनवटा क्यामेरा बोकेर उनीहरूका हरेक गतिविधि पछ्याउने काम वास्तवमा निकै कठिन थियो ।

सबैलाई थाहा छ कर्णाली विकट छ । तर कर्णाली विकटमात्रै होइन साह्रै सुन्दर पनि छ । त्यहाँ गरिबी भए पनि त्यही गरिबीको बीचमा प्रतिभा पनि छ । त्यहाँ पनि प्रतिभा छ भनेर सकारात्मक विषयलाई हामीले उठान गरेका छांै । यसको भाषा सामान्य छ, साधारण छ । यसको विषयवस्तु जटिल छैन । मुगुजस्तो हिमाली जिल्ला जहाँका चेलीहरू प्रायः घरबाहिर काम गर्न जाँदैनन्, त्यस्तो ठाउँमा फुटबल टिम त्यो पनि किशोरीहरूको, यो आफंैमा अच्चमलाग्दो विषय हो । त्यस्तो समाजमा महिला फुटबल कसरी सम्भव भयो, त्यसको कारण हामीले खोजेका छौं ।
हामीले दुई वर्षदेखि एउटा विषयमा अहोरात्र काम जसरी काम ग¥यौं, पुरस्कार पाएपछि हाम्रो मिहिनेतको कदर भएको महसुस भयो । मैले किम्फको पुरस्कार थाप्दाखेरि यो कुरा भने कि, ‘सुनकली सुटिङमा काम गर्दाखेरि पानी पिउन नपाउँदा हामीले पनि हिउँ खाएका थियौँ । खेलाडीहरुसँग हिँड्दा हिँड्न नसकेर रोयौँ, पैसा नभएर पनि रोयौँ । भएभरको लगानी यसमा लगाएर मेरी श्रीमति पनि रोइन् । भिजुअल हेर्दाहेर्दा म धेरै पटक रोएँ । म अब दर्शकलाई रुवाउँछु भन्ने मेरो कमिटमेन्ट थियो, शायद् त्यसैको यो परिणाम हो ।’ साच्चै हाम्रो परिश्रमलाई दर्शक, जुरी र समीक्षक सबैले मन पराइदिनुभएछ, ज्यादै खुशी लागिरहेको छ ।

डकुमेन्ट्री खिच्न हामीलाई झन्डै तीन महिना लाग्यो । मुगु र हुम्लामा हामी लामो समयसम्म बस्नुप¥यो । हामी तीन पटक गयौं त्यहाँ । यसको सम्पादन गर्न झण्डै डेढ वर्ष वर्ष लाग्यो । किनभने हामीसँग झन्डै एक सय ३८ घन्टाको फुटेज थियो । त्यसलाई सुरुमा हामीले ८० घन्टामा झा¥यौं । ८० बाट झार्दैझार्दै अहिले ६० मिनेटमा पु¥यायौं । किम्फमा चाहिं सबै अन्तर्राष्ट्रिय मापदण्ड ख्याली राखी ४८ मिनेटको देखायौं ।
हामी सुनकलीको प्रोमो रिलिज गर्दाखेरि नै निकै उत्साही भइसकेका थियौं । प्रोमो जम्मा तीन मिनेट २५ सेकेन्डको हामीले बनाएर साधारण तरिकाले युट्युबमा अपलोड गरेका थियौं । केही दिनमै ४५ हजारभन्दा बढीले हेर्नुभयो । त्यसमा आएका कमेन्टहरू हेर्दा के लाग्छ यसले दर्शकको ध्यान राम्रैसँग खिच्नेछ । नभन्दै त्यस्तै भयो । किम्फमा सहभागी भएका विदेशी निर्देशकहरुसमेत आफू फिल्म हेर्दा रोएको प्रतिक्रिया दिए । यतिसम्म कि, कुमारी हलमा डकुमेन्ट्री चल्दै गर्दा हलका अपरेटरसमेत रोएको प्रतिक्रिया दिएपछि त मलाई निकै भावुक बनायो । हामीले साच्चै राम्रो फिल्म बनाएछौं भन्ने लाग्यो ।

फुटबल टिम गेम हो । किन सुनकली फोकस ? भन्ने प्रश्न धेरै झेलेँ । मुख्य कुरा त त्यो खेलमा सबै गोल सुनकलीले गरेकी थिइन् । धरै गोल गर्ने खेलाडीले गोल्डेन बल पाउँछ । सुनकली हिरो हो । उसको नाम आफैँमा एउटा विम्ब थियो । सुन अर्थात् गोल्ड, कली अर्थात् गर्ल । यसकारण नाम सुनकली राखियो । अर्थात् गोल्डेन गर्ल ।
नेपालमा तत्काल यसको थप प्रदर्शन कुनै कार्यक्रम छैन । विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा हामीले एप्लाई गरेका छौं, राम्रो प्रतिक्रिया पाइरहेका छौ । अब हामी छिट्टै अष्ट्रेलियामा बसोबास गरिरहेका नेपाली समुदायलाई सुनकली देखाउने तयारीमा छौं । यो विशुद्ध नेपालीको लागि मात्र नभएर विदेशीलाई देखाउन मिल्ने अन्तर्राष्ट्रिय गुणस्तरको बनाइएको छ । त्यसैले नेपाल चिनेका वा नचिनेका विदेशी दर्शकलाई पनि देखाउने हाम्रो लक्ष्य छ ।

हामीले जुन विजेता टीमलाई फलो गरी डकुमेन्ट्री बनाएका थियौं तर अहिले त्यो टीम विग्रिसकेको छ । यही विजेता टिमका तीन जनाले विवाह नै गरिसकें । उनीहरूको प्रचलनअनुसार क्याप्टेन जानदेवी बुढाले १६ वर्षको उमेरमा, खेलाडीहरू पुस्तिका बोहोराले १६ वर्षको उमेरमा र कुसुम बुढाले १५ वर्षकै उमेरमा विवाह गरिसके । कर्णालीका चेलीहरूले अवसर पाए भने धेरै सुनकली जन्मिने विश्वास छ । अबको हाम्रो सपना कर्णालीमा सुनकली स्टेडियम बनाउने छ । भलै त्यो थोरै बजेटको किन नहोस् । कमसेकम बल हान्दा सिधै कर्णाली नदीमा नखसोस् । राम्ररी खेल्नसक्ने मैदान होस् । अबका दिनमा एउटी सुनकली सिंगो कर्णालीको लागि आर्दश पात्र बन्ने कुरामा म पूर्ण विश्वस्त छु ।


Nepal News Australia
251 views

सम्बन्धित समाचारहरु