नेपाल एकीकरण र राष्ट्रिय एकता


  • January 6, 2015


नेपाल एकीकरण र राष्ट्रिय एकता

-डिल्लीराम ढकाल

परदेशीको चिठ्ठी

प्रिय अरोमा,
जाडोले कठ्याङ्रीएको काठमाण्डौ सदा झंैं राजनीतिक सरगर्र्मीले तातेको छ भन्ने तिम्रो खबरले कुनै उत्साह थप्न सकेन तथापि अखण्ड राष्ट्र र राष्ट्रीय एकताको खातिर आफ्नै दल र नेतृत्वप्रति चुनौती दिंदै मुखरित भएका जनआवाजहरूले भने निराशै निराशाले भरिएको वर्तमानलाई ओझेलमा धकेलिदिएर उज्ज्वल भविष्यको सन्देश दिए झंै लाग्छ । जहाँसम्म राजनीतिलाई जातियताको कसौडीमा छड्काइएको छ भन्ने तिम्रो ठम्याइ छ, त्यसमा मेरो त्यति बिमती छैन । फेरि मैले यो कुरा त तिमीलाई धेरै अघि भनेकै हो कि १ जब नेताहरूले आफ्नो आदर्श र सत्कर्मले जनताको मन छुन बिफल हुन्छन उनीहरूले समाउने विषय भनेकै धर्म र जात हो । उती बेला तिम्रो “क्रान्तीकारी’ सोंचले मेरो कुरा सजिल्यै पत्याएन तर अहिले आएर त्यो साबित भइसकेपछि नै सही मेरो उक्त दाबीप्रति तिमीले देखाएको स्विकारोक्तीले मलाई खुशी तुल्याएको छ ।

यो पत्रमा नेपालको एकीकरण र राष्ट्रिय एकताका सन्दर्भमा केही लेखिदिन तिमीले गरेको आग्रहले मेरो मन विभोर भयो आरोमा । तर एउटा कुराले भने मेरो मन अमिलो भयो । तिमी जस्तो बुज्रुक नागरिकले पनि आफ्नो राष्ट्रको इतिहासका बारेमा यति अनभिज्ञता प्रदर्शन गर्ने परिस्थिति कसरी सिर्जना भयो ? माक्र्सको द क्यापिटल र माओको रेड बुक कण्ठस्थ पार्ने तिम्रो दिमागले आफ्नै देशको राष्ट्रिय एकता दिवसको बारेमा यति बेवास्ता गर्दा तिमीले आफैंलाई कुन श्रेणीको नागरिक ठान्यौ अरोमा ? भो छोड, जे भयो भयो विगतमा । धन्दा नमान प्रिय, जिन्दगीको यो महत्वपूर्ण मोडमा आएर तिमीले नेपाल एकीकरणका सन्दर्भमा राखेको जिज्ञाशाले मलाई निकै खुशी तुल्याएको छ ।

तिमीलाई थाहा नै छ, नेपाल एकीकरणको श्रेय राजा पृथ्वी नारायण शाहलाई दिइन्छ । यो सप्ताह उनै राजाको जन्मदिन मनाउने सप्ताह हो । पुस २७ गते हाम्रो राष्ट्रिय एकताका अभियान्ताको जन्मदिन भएकोले सोही दिनलाई हामी राष्ट्रिय एकता दिवसको रूपमा मनाउने गर्दछौं । नेपाल एकीकरणको सविस्तार वर्णन् यो छोटो पत्रमा गर्न सक्दिन तथापि तिम्रो जिज्ञासाप्रति सम्मान गर्दै इतिहासको पानाबाट केही टिपोटहरू तिमीसामु पस्किन चाहन्छु । आशा छ तिमीले मेरो क्षमता र समयसिमा बुझ्नेछौ ।

अरोमा, फ्रान्सिस बुचानान लगायतका इतिहासकारहरूले प्राचीन कालमा नेपाल भनेको विभिन्न सानासाना राज्य (प्रिन्सीपलीटीज) मा बाँडिएर रहेका कश्मिरदेखि भुटानसम्मको हिमालय पाहाडको दक्षिण तथा गङ्गाको मैदानको उत्तरी काँठसम्मको क्षेत्र हो भनेका छन् । नभन्दै त्यो भनाइमा सत्यता पनि पाइन्छ कश्मिर राज्यबाट पूर्व लागेपछि भुटानसम्म प्रायः उस्तै प्रकारको रहनसहन बसोबास तथा भौगोलिक बनावट रहेको छ अरू त कुरै छोडौ इतिहासको विभिन्न कालखण्डका यो क्षेत्रका राजाहरूले सकेसम्म उत्तर तिब्बती क्षेत्र तथा दक्षिण भारतीय क्षेत्रमा राज्य विस्तारको प्रयास कमै गरेका छन् चाहे ती मानदेव हुन्, चाहे जुम्लाका राजा जितारी मल्ल हुन् या उपत्यकाका राजा यक्ष मल्ल वा पाल्पाका राजा मणीमुकुन्द सेन अथवा गोरखाका राजा पृथ्वी नारायण शाह नै किन नहुन् । नभन्दै इलामको घरमा जे पाक्छ जस्तो खाइन्छ प्राय त्यस्तै नै दार्र्जि्लङदेखि जलपाइगुडीसम्म खाइन्छ त्यस्तै डोटीकै जस्तो चलन र बैतडीका जस्तै चलनहरू सिमलामा पनि पाइन्छन् ।

नेपालको इतिहासमा चारचोटि नेपाल एकीकृत भएको पाइन्छ। राजा यक्ष मल्लको पालामा, पाल्पाका राजा मणिमकुन्द सेनको पालमा, तथा जुम्लाका राजा जितारी मल्लका पालमा नेपाल एकीकरण भएको थियो । तर एकीकृत नेपाललाई माथि उल्लेखित राजाहरूले लामो समय बचाइराख्न सकेनन् अथवा आफ्ना भाइ छोराहरूमा आफ्नै जीवनकालका बाँडेर गए । तर अन्तिमचोटि राजा पृथ्वी नारायण शाहले एकीकरण शुरू गरेपछि नेपाललाई पुन विभाजन हुन नदिइ जोगाइराख्ने पद्धति बसाएर गए । अहिलेको नेपाल पृथ्वी नरायण शाहले शुरू गरेको एकीकरण अभियान अन्तर्गतकै भूभाग हो ।

आधुनिक नेपालको एकीकरण सत्रौ शताब्दीमा शुरू भइ अठारौं शताब्दीको शुरूवाततिर पूर्णविराम लागेको थियो । नेपालको एकीकरण अभियानकमा टिष्टादेखि काँगडासम्मका हजारौ नेपाली सहभागी भएका थिए । त्यसैगरी हिमाली जातिदेखि तराइका थारू तथा दनुवार जातिको समेत सहभागिता थियो । नेपाल एकीकरण अभियान जहाँ पुग्थ्यो त्यहींका नेपालीहरू त्यसभन्दा अगाडिको विजय अभियानका लागि सहभागी हुने गर्थे । आधुनिक नेपाल एकीकरण अभियानको उत्सर्गमा पुग्दा नेपालीहरू पश्चिममा काँगडा तथा पूर्वमा टिस्टा नदी तरेर पारि पुगेका थिए ।
पृथ्वी नारायण शाहले आधुनिक नेपालको जग बसालेर गए र सानोसानो क्षेत्र जस्तै (भिरकोट, कास्की, लम्जुंग गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरिदिए । पृथ्वी नारायण शाह ५२ वर्षको अल्पायुमा देहान्त भए पनि नेपाल एकीकरण अभियान जारी रह्यो द्र छोरा बाहदुर शाह लगायतले अगाडि बढाइरहे । नेपाल एकीकरण अभियानको पूर्णविराम चाहिँ यिनका पनाति गिर्वाण विक्रम शाहका पालमा भएको नेपाल अङ्ग्रेज युद्ध जस्लाई एङ्गलो–नेपाल युद्ध (१८१४–१६) पनि भनिन्छ, पछि भयो ।

उक्त युद्धमा नेपालले आफ्नो सार्वभौमिकता बचाए पनि धेरै ठूलो विशाल नेपालको इलाका जस्मा पश्चिम क्षेत्रमा हालको भारतको उतराञ्चल राज्य, हिमाञ्चल राज्य तथा पन्जावमा पर्ने केही साना पहाडी रजौटासमेत पर्दथे भने पूर्वमा दार्जिलिङदेखि लिएर टिष्टा नदीसम्मको तराइ तथा पहाडी भूभाग ब्रिटिश इस्ट इण्डिया कम्पनी सरकारलाई सुगौली सन्धीअन्तर्गत सुम्पनु प¥र्यो। सिक्किममाथिको अधिकार पनि त्याग्नु प¥र्यो । तर बृटिशले नेपाललाई १८२२ मा मेचीदेखि राप्तीसम्मको तराइ तथा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको क्रियाकलापबाट खुसी भएर राप्तीदेखि महाकाली बीचको तराइ भूभाग १८६० मा फर्काएका थिए । एकीकरणको त्यो महायज्ञमा हजारौं सपुतहरूले बलिदानी दिएका छन् । त्यसैले आज हामी नेपाली भनेर बिश्वमा ठाडो शिर बनाएर हिड्ने सौभाग्य पाएका छौं । त्यसैले नयाँ संविधान लेखनको प्रक्रिया चलिरहँदा राष्ट्रिय एकताका सन्दर्भमा जनस्तरमा चासो र सरोकार रहनुलाई अन्यथा पनि मान्न सकिन्न ।
यति छोटो पत्रमा यति महत्वपूर्ण विषयमा जानकारी गराउन् त्यति सम्भव नभए पनि केही लेख्ने प्रायस गरें । आशा छ तिमीले यसलाई सकरात्मक रूपमा लिनेछौ । छुटेका कुरा अर्को पत्रमा लेख्ने वाचासहित अहिलेलाई विदा माग्दछु । अँ साँच्ची, तिमीले पठाइदिएको छुर्र्पी र गुन्द्रुक हात प¥र्यो । धेरै धेरै धन्यबाद । बाँकी अर्को पत्रमा ।
असिम प्यार सहित,
आरोन, सिड्नी ।


Nepal News Australia
375 views

सम्बन्धित समाचारहरु