Thursday, April 18, 2024

महिलाका लागि वाक फर वेलफेयर


  • February 13, 2018


महिलाका लागि  वाक फर वेलफेयर

सामाजिक कल्याणकारी छुट्टै एनआरएन अस्ट्रेलियाले आफ्नो यो अभियानलाई निरन्तरता दिने सिलसिलामा यस वर्ष पनि “वाक फर वेल फेयर” कार्यक्रम अगाीड ल्याएको छ । अस्ट्रेलियाको नेपाली समुदायमा आपसी भाइचाराको अभिव्ृीद्ध गरी यहाँको नेपाली समुदायको दुखसुखको साथी बन्दै आएको एनआरएन अस्ट्रेलियाले यस पटकको वाक फर वेलफेयर विशेष गरी महिला सशक्तिकरण तथा घरेलु हिंसा गर्न र मेन्टल हेल्थका क्षेत्रमा केन्द्रित रहनेछ । अस्ट्रेलियामा नेपालीहरुको संख्या वृद्धि सँगै नेपालीहरुले विभिन्न खालका समस्याहरु भोग्दै आएको यथार्थता हाम्रा सामु छर्लङ्ग छ । आपसी सहयोग र सल्लाहमा समाधान गर्न सकिने कतिपय समस्याहरुलाई समयमै सम्बोधन गर्न नसक्दा हाम्रो समाजका थुप्रै युवा युवतीहरु मृत्युवरण गर्न पुगेका छन् । यस्तो खालको कटु यथार्थताका बीच एनआरएन अस्ट्रेलियाले गर्न लागेको यो वाक फर वेलफेयरलाई भब्य र सभ्य रुपमा सम्पन्न गराउनु समाजका सबै वर्ग र समुदायको कर्तब्य हुन आउँछ ।

सन् २०११–२०१३ को गणेश केसीको नेतृत्वमा रहेको कार्यसमितिले सामाजिक कल्याणका लागि ग्रान्भिलस्थित गुड स्ट्रिटमा पण्डित दिनबन्धु पोखरेललाई बोलाएर गरेको महापुराणबाट एनआरएन अस्ट्रेलियाले तय गरेको सामाजिक कल्याणकारी अभियान यहाँसम्म आइपुग्दा विभिन्न आरोह अबरोहहरु पार गरेको छ । सामाजिक कल्याणकारी कोष स्थापनाका साथसाथै यसको निरन्तरताको लागि अहोरात्र खटिनुहुने, विगतका नेतृत्व तहमा पुगेर काम गर्नेहरु तथा सामाजिक अभियन्ताहरु वास्तवमै धन्यवादका पात्र हुनुहुन्छ । कल्याणकारी कोषबाट अस्पतालमा मृत्युसँग पैठेजोरी खेलेका बिरामी र उपचार गर्दागर्दै मृत्युवरण गर्न पुगेका नेपालीहरुको परिवारलाई आर्थिक सहयोग पु¥याउँदै आएको छ । एनआरएनले गर्दै आएको यो आर्थिक सहयोग थोरै होला तर यसले आफ्नो समाजप्रति देखाएको सद्भाव र सहयोगी भावनालाई कसैले नाप्न मिल्दैन र सक्दैन । मरिसकेको व्यक्तिको परिवारलाई पैसा दिएर, उपचारको लागि हात्तीको मुखमा जिरा बराबरको आर्थिक सहयोग गर्नका लागि सामाजिक कल्याणकारी कोष संचालन गरिएको भन्ने आरोपबाट यो सस्था चोखो बन्न सकेको छैन । बाहिर बसेर कुरा काट्न र टिप्पणी गर्न जति सजिलो छ भित्र रहेर काम गर्न उत्तिकै कठिन छ भन्ने कुरा बुझ्न नसक्नेहरुले वेलावेलामा गर्ने यस्ता खालका टिप्पणीहरुले खासै अर्थ राख्दैन । यहाँ एनआरएनले आपतविपत्मा परेका नेपालीहरुलाई आर्थिक सहयोग कति ग¥यो वा गरेन भन्दा पनि एउटा आफ्नै समुदायमा यसले मानवीय ब्यबहार देखाउन सक्यो कि सकेन भन्ने कुराले बढी महत्व राख्दछ । सहयोगका लागि अस्पतालमा पुगेर होस् या घरमा पुगेर नै सहयोग र सद्भाव दिन यो संस्था चुकेको छैन । नेपालीहरुको साझा संस्था भएकोले यसले यहाँ रहेका नेपालीहरुलाई एकै सुत्रमा बढेर समाजको हितका लागि एकजुट बनाउने मात्र नभएर यहाँका नेपालीको दुःख र सुखको भरपर्दो साथिको भूमिका र दायित्व निर्वाह गर्नुपर्ने जिम्मेवारी छ ।

अस्ट्रेलियामा नेपालीको संख्या बढ्दै जानु हाम्रा लागि खुशीको कुरा हो, तर संख्या बढ्ने क्रमसँगै हाम्रो समुदायमा घरेलु हिँसा र मानसिक पिडाका कारण दुःखद् घटनाहरु बढ्दै गएका छन् । यस्ता समस्याको समयमै पहिचान गर्न नसक्दा दुःखद् घटनाहरु बढ्दै गएको यथार्थता हाम्रासामु छ । अस्ट्रेलियाको नेपाली समुदायको दुखसुखको साथी एनआरएनए अस्ट्रेलियाले त्यस्ता दुःखद् घटनाहरुको न्यूनीकरणका लागि के र कस्तो कदम चाल्न सकिन्छ भनेर हामीले यहाँका नेपाली चिकित्सकहरुसँंगको सरसल्लाह र सहकार्यमा ठोस कार्यक्रमहरु ल्याउँदैछौ । यस पटकको वाक फर वेलफेयर अभियान तिनै कार्यक्रमलाई लक्षित गरी अगाडि बढाइएको हो । यो पुण्य कार्यमा आपूmलाई सहभागी बनाएर हिस्सेदार बन्नुहुन मा सबैसँग अनुरोध गर्दछु ।
– टोनु घोताने, अध्यक्ष, एनआरएनए अस्ट्रेलिया

जुन पवित्र उद्देश्य राखेर सामाजिक कल्याणकारी कोषको स्थापना गरिएको छ त्यसको उपयोग र प्रयोग कसरी र कुन रुपले भैराखेको छ भन्ने कुराको जानकारी सरोकारवाला सबैलाई बेलाबेलामा जानकारी गराउनुपर्ने दायित्वलाई संस्थाको नेतृत्वमा रहेकाहरुले बिर्सनु हुँदैन । अस्ट्रेलियामा मन पनि भएका र धन पनि भएका नेपालीको संख्या धेरै छ । यो संख्या दिनानुदिन बढ्दो क्रममा छ । यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्दछ । तर बिडम्बना तन, मन र धन भएकाहरुलाई यस्तो पुण्य कार्यमा किन सक्रिय बनाउन सकिएको छैन बिचारनीय बिषय बनेको छ । समाजसेवा गर्छु र गर्नु पर्चा भन्ने भावना बोकेर एनआरएनएको नेतृत्वमा पुगेका र पुग्न चाहनेहरुले साचिक्कै काम गरेर देखाउने हो भने यो सामाजिक कल्याणकारी कोषको नियमित आम्दानीको स्रोत खोज्न र बनाउन सक्नुपर्दछ । करिब एक लाख नेपाली अस्ट्रेलियामा बस्छन भनेर भनिन्छ तर सबैको साझा संस्था मानिंदै आएको एनआरएनए अस्ट्रेलियामा जम्मा करिब आठ हजारको हाराहारीमा सदस्य छन् । यसबाट यो संस्थाको वास्तबिक धरातल के छ भनेर प्रस्ट हुन सकिन्छ । जति सक्दो धेरैलाई संस्थामा आबद्ध बनाउन सकियो संस्थाको काम कारबाही प्रभावकारी र व्यापक बनाउन सकिन्छ भन्ने कुरालाई बुझ्नु पर्ने बेला भैसकेको छ ।

एनएसडब्लुमा मार्च १० तारिख बिहान हुने वाक फर वेलफेयरको तयारी करिब करिब अन्तिम चरणमा पुगेको छ । कार्यक्रममा भाग लिन चाहनेहरुका लागि आवेदन फर्म खुलिसकेको छ । हामीले यसपटक सिड्नीमा कम्तिमा ५०० जनाले यो अभियानमा आफ्नो उपस्थिति जनाउने विश्वास लिएका छौं । कार्यक्रम हामी नेपालीको हितको लागि नै गरिएको हुनाले नेपालीहरुको उपस्थिति हुने कुरामा ढुक्क हुन सकिन्छ । पदयात्रामा नेपालीहरुको बाक्लो बसोबास रहेको रकडेल क्षेत्रका मेयरले समेत भाग लिनेछन् । यो कल्याणकारी कार्यमा सबै नेपालीले साथ दिएर सहभागी भई संस्थाको पवित्र कार्यलाई थप टेवा पु¥याउन सबैले सहयोग गर्नुहुनेछ भन्ने आशा लिएको छु ।
– नन्द गुरुङ, एनएसडब्लु स्टेट कोअर्डिनेटटर, एनआरएनए अस्ट्रेलिया

चासो आम्दानी खर्चमा
संस्थाको नाममा बेलाबेलामा विभिन्न शीर्षकमा सहयोग उठाइन्छ । दिल भएकाहरुले सकेको सहयोग गरि नै रहेका छन् तर उनीहरुलाई आफुले गरेको सहयोग कहाँ, कसरी र कुन रुपमा उपयोग भैराखेको छ भन्ने कुराको सामान्य जानकारी समेत समयमै दिन नसक्दा सहयोगी दाताहरुको मन भाँचिनु अस्वाभिक होइन ।

सामाजिक कार्यका लागि सहयोग उठाऊ हामी सहयोग गर्छु तर यसको हिसाबकिताब पनि देऊ है भनेर दाताले भन्छ भने त्यसलाई नकारात्मक रुपमा नभई सकारात्मक रुपमा लिन सक्नुपर्दछ । कमसेकम उसले आफुले गरेको सहयोग, दानको रकम सही रुपमा प्रयोग भएको छ कि छैन भनेर नेतृत्व तहलाई थप जिम्मेवार बन्न त सहयोग पु¥याउँछ ।
अस्ट्रेलियामा दान र सहयोग भनेर पैसा उठाउने काम वास्तवमैं बाक्लिंदो छ । ती सहयोग र दान कहाँ कसरी उपयोग भयो, भएका छन् भन्ने सवालमा सीमित संघ सस्थाले मात्र हरहिसाब सार्वजनिक गरेको कटु यथार्थताका बिच आफुलाई सबैको साझा संस्थाको रुपमा रहेको बताउने एनआरएनए अस्ट्रेलियाले आफुलाई उदाहरणीय संस्थाको रुपमा उभ्याउनु पर्ने चुनौती देखिएको छ ।

अस्ट्रेलियाको नेपाली समुदायमा अत्यन्तै लोकप्रिय बन्दै गएको वाक फर वेलफेयरले निरन्तरता पाउनु आफैमा राम्रो हो । यो अभियानमा बढीभन्दा बढीको सहभागिता गराउने तर्फ आयोजकले विशेष जोड दिनुपर्दछ । कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्ने हो भने कार्यक्रम हुँदा मात्रै अरुलाई सम्झने संस्कारको अन्त्य हुनुपर्दछ । एनआरएनए अस्ट्रेलियाको एनसीसीमा हालै गरिएको मनोनयनको बारेमा धेरैको असहमति र असन्तुष्टि हुन सक्छ तर पनि यो पुण्य कार्यलाई सबैले साथ र सहयोग दिनुपर्दछ । यसको लागि विशेष गरी आयोजकले सबैलाई समेट्ने इमान्दार प्रयास गर्नुपर्दछ । आपसी मनोमालिन्यलाई बिर्सेर यस परोपकारी कार्यमा सबै अस्ट्रेलियावासी नेपालीले साथ र सहयोग गर्नुपर्दछ ।
– रमेश पाण्डे, अध्यक्ष, ओएनएफ अस्ट्रेलिया

एनआरएनए अस्ट्रेलियाले समाजको लागि गरेको काम अत्यन्त प्रसंसनीय छन्, स्तुतीय छन् ≥ यति हुँदाहुँदै पनि यो साझा संस्थाको बारेमा कसैले औला ठड्याउन नसकोस् भन्ने चाहना यो संस्थाको भलो चाहने शुभचिन्तकहरुमा हुनु स्वाभाविक नै हो । सामाजिक कल्याणकारी कोष स्थापनाको लागि महायज्ञ , पाथिभरा श्रद्धाश्रम निर्माणका लागि “वाक फर नेपाल”, विद्यार्थी कल्याणकारी कोषका लागि “वेलफेयर फर स्टुडेन्ट” हुँदै यसपटकको “वेलफेयर फर वोमन” कोष स्थापनाको अभियानसम्म एनआरएनए अस्ट्रेलिया आइपुगेको छ । यो अभियानमा को कसले कति दान र सहयोग गरे अनि कुन कुन शीर्षकमा कति खर्च भयो भनेर हिसाबकिताब चुस्त दुरुस्त सार्बजनिक गर्न सक्ने नसक्नेमै यो संस्थाको भविष्य अडेको छ ।

कुनै पनि कार्यक्रमलाई निरन्तरता दिनुले त्यति महत्व राख्दैन जति त्यसले समाजमा सकारात्मक प्रभाव पर्न सक्दछ । यो वाक फर वेलफेयरले निरन्तरता त पाएको छ तर यसलाई अझ परिमार्जन गर्दै लैजानु पर्दछ । करिव ५० हजार को संख्यामा नेपाली बसोबास गर्ने एनएसडब्लुमा जम्मा ५०० जनालाई सहभागी गराउने लक्ष्यले पनि हामी अर्थात् एनआरएनए अझै नेपाली समुदायमा पुग्न सकेका रहेनछौं भन्ने कुराको पुष्टि गर्दछ । आयोजक संस्थाको प्रयास बढीभन्दा बढीको सहभागिता कसरी गराउन सकिन्छ भन्नेतर्फ हुनु पर्दछ । यो नित्तान्त सामाजिक कार्यका लागि गरिने कार्यक्रम भएकोले सबैलाई सहभागी हुनु अनुरोध गर्दछु ।
– विवेक थापा, अध्यक्ष, एनएडिएफ अस्ट्रेलिया

कुनै नाफामुखी कम्पनीले दुई बर्षमा एकचोटि आय ब्यय विवरण पेश गर्ने शैलीमा हुने आयव्यय विवरणको सार्वजनिकिकरण गैर नाफामुलक अर्थात् सामाजिक संस्थाको सवालमा त्यति सुहाउँदो मानिंदैन । सरोकारवाला मात्र होइन सरोकार राख्नेहरुलाई पनि समय समयमा आय व्ययको विवरण प्रस्तुत गर्न सके मात्रै दान र सहयोग गर्नेहरुको मनमा संस्थाप्रतिको विश्वास बढ्न सक्दछ ।

अस्ट्रेलियामा बढ्दो घरेलु हिंसा र मानसिक रोगसमन्धी समस्यालाई एनआरएनए अस्ट्रेलियाले गम्भीरतापूर्वक हेर्दै यस वर्षको वाक फर वेलफेयर विशेष गरी महिला सम्बन्धी परियोजनाका लागि आयोजना गरिन लागिएको हो । यो कार्यक्रमको प्रमुख उद्देश्य घरेलु हिंसा र मानसिक रोग निदानका बारेमा जनचेतना जगाउनु हो । साथै यी रोग निदान सम्बन्धी अस्ट्रेलियामा उपलब्ध स्रोत र साधनहरुको बारेमा जानकारी दिनु हो । यसबाट संकलित रकममध्ये ४० प्रतिशत सामाजिक कल्याणकारी कोषमा जानेछ भने ६० प्रतिशत नारी निकुञ्ज अस्ट्रेलियाले मानसिक रोग र घरेलु हिंसाबाट पीडितहरुको उद्दारको लागि अस्ट्रेलियामा खर्च गरिने छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । यो सामाजिक अभियानलाई सफल बनाउन हाम्रो समाजका सबै वर्ग र समूहसँग म हार्दिक अनुरोध गर्दछु । हाम्रो टिम कार्यक्रमलाई भब्य एवम् सभ्य कसरी बनाउन सकिन्छ भनेर जुटिरहेको छ । संस्था र यसको काम कारबाहीप्रति अझ विश्वास र भरोसा कसरी बढाउन सकिन्छ भन्नेतर्फ हामी केन्द्रित रहेका छौ । अस्ट्रेलियाब्यापी हुने यो वाक फर वेलफेयर कार्यक्रममा हुने आय र व्ययको पूर्ण जानकारी कार्यक्रम सकिएको एक हप्ताभित्र सार्वजनिक गरिनेछ । हामीले आशा गरेका छौ नेपाली समुदायको हितका लागि नेपालीको साझा संस्थाद्वारा आयोजना हुने यो कार्यक्रममा सबैको सक्रिय साथ र सहयोग रहनेछ ।
– प्रतिज्ञा अधिकारी, संयोजक, नारी निकुञ्ज अस्ट्रेलिया, राष्ट्रिय संयोजक, वाक फर वेलफेयर

यस पटक महिलाका लागि
एनआरएनए अस्ट्रेलियाको हरेक कार्यसमितिको काम भनेको नेपाल फेस्टिभल र वाक फर वेलफेयर कार्यक्रम गर्नु नै हो कि जस्तो देखिन थालेको छ । नेपालको पर्यटन प्रबद्र्धन गर्ने तथा नेपाली कला संस्कृति र रीतिरिवाजको बारेमा प्रवासमा जानकारी दिने उद्देश्यले सन् २००६ देखि हरेक दुई÷दुई वर्षमा नेपाल फेस्टिभल कार्यक्रम हुँदै आएको छ । सुरुका केही वर्ष सिड्नीमा मात्र केन्द्रित यो कार्यक्रम आ सम्म आइपुग्दा अस्ट्रेलियाको मुख्य मुख्य शहरहरुमा बिस्तार भैसकेको छ । यसलाई नेपाली समुदायको एउटा उपलाब्धिपुर्ण कार्य मान्नु पर्दछ । त्यसैगरी सन् २०१२ मा महापुराण गरेर स्थापना गरिएको सामाजिक कल्याणकारी कोषलाई सहयोग पुग्ने गरी सन् २०१४, २०१६ मा वाक फर वेलफेयर कार्यक्रम गरिंदै आएको छ । यस वर्ष यो कार्यक्रम मार्च १० मा सिड्नी बाट सुरु हुने छ । त्यसैगरी १८ मार्चमा ब्रिसबेन र २४ मार्चमा एडिलेडमा वाक फर वेलफेयर कार्यक्रम हुनेछ । त्यसैगरी मेलबर्न, क्यानबेरा, पर्थ र डार्बिनमा पनि यो कार्यक्रम गरिनेछ । यो अभियानकी संयोजक प्रतिज्ञा अधिकारीका अनुसार यी शहरहरुमा कहिले गर्ने भन्ने मितिको टुंगो चाँडै नै लगाइनेछ । यस पटकको वाक फर वेलफेयरमा अस्ट्रेलियाभरि कम्तिमा एक हजारको सहभागिता हुने अपेक्षा गरिएको छ । यसबाट करिब एक लाख अस्ट्रेलियन डलर संकलन हुने बताइएको छ । जसमा साथि प्रतिशत महिला सशक्तिकरण तथा घरेलु हिँसा र मानसिक समस्या भोगिरहेका चेलीहरुको उपचार तथा जनचेतनाका कार्यक्रमका लागि छुट्याइनेछ भने बाँकी चालिस प्रतिसत सामाजिक कल्याणकारी कोषमा जम्मा गरिनेछ । एन आर एन ए अस्ट्रेलिया ले अगाडी बढाएको यसपटकको वाक फर वेलफेयर अभियानलाई सफल बनाउन यहाँ रहेको नेपाली समुदायले सक्दो साथ र सहयोग गर्नुपर्ने दायित्वबाट पछि हट्नु हँुदैन । नित्तान्त सामाजिक कार्यको लागि थालिएको यो अभियान कुनै व्यक्ति बिशेषको नभई अस्ट्रेलियामा रहेको सिंगो नेपाली समुदायको हो । त्यसैले पनि यसलाई भब्य एबम सभ्य रुपमा सम्पन्न गर्न हामी आजैदेखि लागौं, जसबाट सामाजिक कल्याणका लागि एनआरएनएले अगाडि बढाएको यो अभियानमा एउटा ईटा थपियोस् ।


NNA TEAM
286 views

सम्बन्धित समाचारहरु